दोहा, पुस ९ गते । इस्लामवादी नेतृत्वको विद्रोहीहरूले राष्ट्रपति बशर अल–असदलाई सत्ताच्यूत गरेपछि कतारले मङ्गलबार सिरियामाथिका प्रतिबन्धहरू द्रुत रूपमा हटाउन आह्वान गरेको छ । “हामी सिरियामाथिको अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने प्रक्रिया तीव्र पार्न गहन प्रयास गर्न आह्वान गर्दछौँ”, विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले नियमित प्रेस ब्रिफिङमा भन्नुभयो ।
एक उच्चस्तरीय प्रतिनिधिमण्डलले दमास्कसको भ्रमण गरेको एक दिनपछि कतारको यो आह्वान आएको हो । दुई देशबीच १३ वर्षदेखिको विवाद अन्त्य गर्दै कतारी दूतावास आइतबार पुनः खोलिएको छ ।
“कतारको स्थिति स्पष्ट छ”, अन्सारीले भन्नुभयो, “प्रतिबन्धको कारण अब त्यहाँ छैन र पूर्व शासनका अपराधहरू नै यी प्रतिबन्धको कारण थिए, त्यसैले प्रतिबन्ध छिटै हटाउन आवश्यक छ ।”
सन् २०११ मा असदको सरकारले शान्तिपूर्ण विद्रोहलाई दमन गरेपछि भड्किएको सशस्त्र विद्रोहको मुख्य समर्थकमध्ये दोहा एक थियो ।
आफ्ना धेरै छिमेकीहरूको विपरीत कतार असदको कडा आलोचक बनेको थियो र गत वर्ष अरब कूटनीतिक गुटमा फर्किए पनि कतारले सिरियासँग सम्बन्ध नवीकरण गरेको थिएन ।
अन्तर्राष्ट्रिय समुदायले सिरियामाथिका प्रतिबन्धहरू हटाउन हतार गरेको छैन । अन्तर्राष्ट्रिय समुदायले नयाँ अधिकारीहरूले कसरी आफ्नो शक्ति प्रयोग गर्छन् भनेर पर्खिरहेको छ ।