कैलाली, पुस ९ गते । धनगढीमा आजदेखि ‘नवौँ बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१’ सुरु भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी सङ्घ कैलालीको आयोजनामा ‘सामाजिक रूपान्तरणका लागि शिक्षामा नयाँ अभियान’ भन्ने मूल नाराका साथ आजदेखि शैक्षिक महोत्सव सुरु भएको हो ।

महोत्सवको उद्घाटन गर्दै सुदूपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले समाज रूपान्तरण गर्न एउटा पुस्तकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले नयाँ प्रविधिलाई आत्मसात् गर्दै यो महत्वलाई थप बढावा दिनुपर्ने बताउनुभयो । उहाँले पुस्तकलाई प्रदर्शनी र व्यावसायिक रूपले मात्र नहेर्न व्यवासयीहरूलाई आग्रह गर्नुभयो ।

व्यवसायी सङ्घका अध्यक्ष भीम पडालले बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको आयोजनाले पुस्तकको महत्व विस्तार र ज्ञान प्राप्तिमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । महोत्सवमा सुदूरपश्चिम प्रदेशका साथै देश र विदेशमा रहेका प्रकाशक, स्टेशनरी वितरक, शैक्षिक संस्था, मसलन्द सामग्री, शिक्षण संस्था र शिक्षासँग सम्बन्धित निकायका गरी एक सयभन्दा बढी स्टल रहेको उहाँले बताउनुभयो ।

आगामी १५ गतेसम्म चल्ने महोत्सवमा विद्यालयस्तरीय नृत्य, कविता, वक्तृत्वकला र चित्रकला प्रतियोगितासमेत आयोजना हुने जनाइएको छ । रमाइलो मेला, राष्ट्रिय कलाकारहरूका प्रस्तुतिका साथै सुदूरपश्चिमका मौलिक परिकारसहितका खाना र खाजाका कक्षसमेत यहाँ राखिएका छन् । शिक्षा र खेलकुदसँग सम्बन्धित विभिन्न विषयमा बहस सञ्चालन हुनेछ ।

महोत्सको व्यवस्थापनमा करिब दुई करोड बढी खर्च हुने, दुई लाख दर्शकले अवलोकन र पाँच करोड बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।