काठमाडौँ, पुस ८ गते । त्रिभुवन विश्वविद्यालयले देशमा बढ्दो नीतिगतलगायतका सबैखाले भ्रष्टाचारसँग जुध्न सक्नेखालको जनशक्ति उत्पादनको काम थालेको छ। यसका लागि विगत चार वर्षदेखि सञ्चालन हुँदै आएको सुशासन तथा भ्रष्टाचार निवारण अध्ययनमा नीतिगत भ्रष्टाचारसँग सम्बन्धित विषयहरू थपिएका छन्।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कार्यक्रम संयोजक डा। दीपकबहादुर अधिकारीले भन्नुभयो– ‘नयाँ विषय थपिएसँगै सुशासन तथा भ्रष्टाचार निवारण अध्ययनको नाम पनि परिवर्तन गरी सार्वजनिक नीति सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन बनाएको छ। यो कार्यक्रमले नीतिगत भ्रष्टाचारको विषयमा केन्द्रित भएर सैद्धान्तिक तथा व्यावहारिक ज्ञान दिनेछ।’

भ्रष्टाचारले असर नगर्ने खालका नीति निर्माणमा यो कोर्सले सहयोग गर्नेछ। कार्यक्रममा धारणा राख्दै त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका पूर्वसहायक डीन प्राडा। ताराप्रसाद भुसालले यो कार्यक्रम नेपालको अहिलेको आवश्यकताले माग गरेको बताउनुभयो।

विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा सञ्चालन हुने यो कार्यक्रम अहिले स्नातकोत्तर स्तरको हो । यसलाई क्रमिक रूपमा तल्लो तहमा झार्दै जाने सोच रहेको पूर्वसहायक डीन भुसाललले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘यो कार्यक्रमको लक्ष्य सार्वजनिक क्षेत्रमा हुने भ्रष्टाचार विरोधी ज्ञान तथा सीपको दायरा बढाउन विशेष ध्यान दिने हो । आर्थिक विकासको महत्वपूर्ण पाटोका रूपमा रहेको भ्रष्टाचारसँग लड्नसक्ने जनशक्ति तयार पार्नु हो।’

यस कार्यक्रमले विद्यार्थीहरूलाई सुशासन, सार्वजनिक नीति निर्माण, कार्यान्वयन र मूल्यांकनमा दक्ष बनाउँदै सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय संस्थाहरूमा नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ।

यसमा समावेश पाठ्यक्रमले सुशासन, भ्रष्टाचार र सार्वजनिक प्रशासनका जटिल चुनौतीहरूको सामना गर्ने सक्षम मानस संशाधनको विकास गर्ने सोच रहेको संयोजक अधिकारीले स्पष्ट पार्नुभयो । स्नातक गरेका विद्यार्थीहरूले भर्ना हुन सक्ने यो कार्यक्रम ४ सेमेस्टरको छ । (आजको नेपाल समाचारपत्र दैनिकबाट)