काठमाडौँ, पुस ८ गते । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज साँझबाट सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव विकसित हुने भएको छ ।
आज कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली रहेको छ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा छ भने तराई लगायत पहाडी भूभागका केही स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ ।
आज सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थान तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
अहिले बिहानको समयमा तराई तथा उपत्यका क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, कृषि, यातायात तथा हवाई उड्डयनमा क्षणिक र आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।