हुम्ला, मङ्सिर २५ गते । हुम्लामा आइतबार रातिदेखि सोमबार दिउँसोसम्म निरन्तर हिमपात भएपछि अवरुद्ध सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएर आज हवाई सेवा सञ्चालनमा आएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सुरक्षाकर्मी मिलेर हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालनमा आएको नागरिक उड्डयन प्राधिकरण हुम्लाका प्रमुख महेन्द्र सिंहले जानकारी दिनुभयो । मौसम सफा भएपछि आज बिहानैदेखि विमानस्थल सञ्चालनमा आएको उहाँले बताउनुभयो । विमानस्थलको पार्किङस्थलमा जमेको केही हिउँ आफैँ पग्लिएर गए पनि रनवेमा जमेको हिउँ सुरक्षाकर्मीको सहयोगमा पन्छाइएको हो। जिल्लामा हिमपात हुँदा सोमबार एक दिन हवाई सेवा अवरुद्ध भएको थियो ।

सेवा सञ्चालनमा आएपछि नेपालगञ्जबाट सीता र तारा एयरले एक एक उडान गरेका हुन् भने सीता एयरले नेपालगञ्ज र सुर्खेत एक–एक गरी दुई फ्लाइट उडान गरेको सीता सिमकोट स्टेसनका सूर्य लामाले बताउनुभयो ।

हुम्लामा सीता, समिट, तारा एयर र सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले नेपालगञ्जदेखि उडान भर्दै आएका छन् ।