काठमाडौँ, मङ्सिर २४ गते। ‘बाह्रौँ नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा नेपालसहित २३ देशका ५३ चलचित्र छनोट भएका छन् । सन् २००९ मा स्थापना भएको मानव अधिकार चलचित्र केन्द्रले यस महोत्सवको आयोजना गर्दै आएको छ ।
‘सामाजिक न्याय’ सहित आज सोमबारदेखि चल्ने महोत्सवमा मानव अधिकारको पैरवीका लागि विभिन्न अन्तरक्रिया तथा गोष्ठीपनि आयोजना गरिने नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र केन्द्रका अध्यक्ष एवं महोत्सवका निर्देशक पाण्डव खत्रीले जानकारी दिनुभयो ।
“यसपटकको संस्करणमा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त चलचित्रसमेत सहभागी हुन् आएका छन्, मानव अधिकारसँग सम्बन्धित चलचित्रहरुको प्रवद्र्धन र प्रदर्शनका लागि नियमित रुपमा महोत्सव गर्दै आएको छौँ”, निर्देशक खत्रीले भन्नुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको महोत्सवमा कान्स र बर्लिनजस्ता विश्वचर्चित चलचित्र महोत्सवमा पुरस्कृत चलचित्रहरु ‘अल वी इमाजिन एज लाइट’, ‘द म्यान हू कुडनट रिमेन्न साइलेन्स’, ‘एन आउटरन’, ‘अनार दाना’ लगायतको सहभागिताले महोत्सवको रौनकता बढाउने महोत्सव निर्देशक खत्रीले बताउनुभयो ।
नेपालसहित पाकिस्तान, बङ्गलादेश, भारतलगायत देशका चलचित्रकर्मीको सहभागिता रहने महोत्सव आगामी चार दिनसम्म काठमाडौँको चलचित्र विकास बोर्डको सभाहल र नेपाल पर्यटन बोर्डको सभाहलमा सञ्चालन हुनेछ ।