ओस्लो, मङ्सिर २४ गते । नोबेल समितिले सन् २०२३ को शान्ति पुरस्कार विजेता नर्गिस मोहम्मदीसँग उहाँ पुरस्कृत भएपछि पहिलो पटक प्रत्यक्ष कुराकानी गरेको छ । समितिले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियो कलको क्लिपअनुसार मोहम्मदीले आफु पुरस्कृत भएको जानकारी प्राप्त गरेपछि इभिन जेलको महिला वार्डमा रहेका कैदीले ‘वुमन लाइफ फ्रिडम’ को नारा लगाएर पुरस्कार समितिप्रति कृतज्ञता व्यक्त गरेको स्मरण गरेको बताउनुभएको छ ।

“मेरो एक जना सँगी कैदीले जेलको पुरुष वार्डमा रहेका आफ्ना पतिलाई फोन गर्न सफल भएको र उहाँबाट आफुलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको अविश्वसनीय समाचारलाई पुष्टि गर्ने मौका मिलेको थियो,” पुरस्कृत भएको थाहा पाउँदाको क्षणबार उहाँले स्मरण गर्नुभयो ।

इरानमा महिलाका लागि अनिवार्य हिजाब र मृत्युदण्डविरुद्ध वकालत गरेको आरोपमा ५२ वर्षीया मोहम्मदी सन् २०२१ को नोभेम्बरदेखि जेल जीवन बिताउँदै आउनुभएको छ । उहाँलाई उपचारका लागि अस्थायी रूपमा जेलबाट बाहिर निस्कन दिइएको हो । उहाँले जेल प्रशासनको शर्त अनुसार उपचारपछि उहाँ पुनः जेल फिर्ता हुनुपर्छ ।

इरानमा मानव अधिकारका लागि अभियान चलाएबापत गत वर्षको नोबेल शान्ति पुरस्कार जितेपछि मोहम्मदीका दुई सन्तानले उहाँको तर्फबाट यो पुरस्कार प्राप्त गर्नुभएको थियो ।

हाडको शल्यक्रिया पछि स्वास्थ्यको कारण देखाउँदै उहाँलाई बुधबार तीन हप्ताका लागि जेलबाट रिहा गरिएको थियो । मोहम्मदीका समर्थकहरूले यसलाई अपर्याप्त भन्दै उहाँको बिनाशर्त स्थायी रिहाइका लागि दबाब दिएका छन् ।