काठमाडौँ, मङ्सिर २४ गते । संरक्षणकर्मीहरूले ठमेलको १५ तलाको छायादेवी कम्प्लेक्स भत्काउनुपर्ने माग गर्दै आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन्। सम्पदा संरक्षण समाजले ठमेलस्थित व्यापारिक भवन छायादेवी कम्प्लेक्स ऐतिहासिक सार्वजनिक पोखरी मिचेर बनाइएको र पोखरी नै कायम हुनुपर्ने माग राखी काठमाडौंको सुन्धारा क्षेत्रमा प्रदर्शन गरेको हो।

संरक्षणकर्मीले लिच्छविकालीन सम्पदा, इतिहास मेटाएर व्यापारिक भवन छायादेवी कम्प्लेस बनाउने कार्य भएको भन्दै तत्काल सो भवन भत्काउन माग गरेका हुन्। साथै उनीहरूले राष्ट्रको महत्वपूर्ण निधिका रूपमा रहेको सम्पदा र संस्कृति मास्ने कार्यमा संलग्नलाई कारबाही गरी सो सम्पदा पुनः सरकारको स्वामित्वमा ल्याउन पनि संरक्षणकर्मीले माग गरेका छन्।

प्रदर्शनकारीहरूले छायादेवी कम्प्लेक्स बहिष्कार गरौं, कमलपोखरी पुनस्थापित गरौं, सम्पदा संरक्षण अभियानमा सबै नेपाली एक हौं लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए। विक्रमशील महाविहारको ऐतिहासिक कमलपोखरी र त्यसको डिल पुरेर व्यापारिक कम्प्लेस छाया सेन्टर निर्माण गरेको भन्दै संरक्षण अभियन्ताहरूले ऐतिहासिक पोखरीमा बनाइएको उक्त कम्प्लेस भत्काउनुपर्ने माग गर्दै आए पनि सरकारले खासै वास्ता गरेको छैन।

सर्वोच्च अदालतमा दायर गरेको मुद्दा विचाराधीन अवस्थामा रहेको र सम्मानित अदालतबाट देशको अमूल्य सम्पदा विनाश नहुने र संरक्षण हुने गरी न्यायसम्पादन हुने विश्वास सम्पदा संरक्षण अभियन्ताहरूको छ। (आजको नेपाल समाचारपत्र दैनिकबाट)