कालिकोट, मङ्सिर २४ गते ।कालिकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माण हुने भएको छ । विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम (पीएलआरआईपी) अन्तर्गत महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माण हुने भएको हो ।

उक्त सडकको मर्मत, कालोपत्र, स्तरोन्नति हुने त्यसका लागि स्थानीय सडक सुधार कार्यक्रम ९पीएलआरआईपी० कार्यक्रमले ठेक्कालगायतका अन्य काम गर्ने गाउँपालिकाले जनाएको छ । 

सडक निर्माणका लागि स्थानीय तहले जग्गा व्यवस्थापन गर्नुपर्ने सम्झौता भएको र लगानी तथा पूर्वाधार निर्माण स्थानीय सडक सुधार कार्यक्रमले गर्ने महावै गाउँपालिकाका अध्यक्ष खेमबहालुर सिंहले बताउनुभयो । “विश्व बैंकको सहयोगमा कर्णाली प्रदेशका चार स्थानीय तहको ग्रामीण सडक स्तरोन्नति हुने भएको छ”, उहाँले भन्नुभयो, “त्यसै योजनाअनुसार महावै गाउँपालिका जोड्ने सडकको आवधिक मर्मत, नियमित मर्मत, स्तरोन्नति र नयाँ सडक निर्माण हुनेछ ।’

कालिकोटको महावै गाउँपालिका मुकाममा सडक जोड्नका लागि कालीकोट–जुम्ला सडकखण्डको खाँडाचक्र नगरपालिका–८ को सेरावाडादेखि महावै गाउँपालिकाको केन्द्र पादमघाटसम्म जोड्ने नौ किलोमिटर सडक निर्माणका लागि सम्झौता भएको र त्यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) लगायतका अन्य काम सम्पन्न भएको गाउँपालिकाका अध्यक्षले सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “अब सडक निर्माणको ठेक्का प्रक्रिया अगाडि बढ्छ ।”

यो आयोजनामा कालिकोट–जुम्ला सडकखण्डबाट महावै गाउँपालिका जोड्नका लागि तिला नदीमा पक्की पुल निर्माण हुने र पाँच वर्षभित्रमा सडक कालोपत्र, स्तरोन्नतिलगायत गरिने गाउँपालिका अध्यक्ष सिंहले जानकारी दिए । 

महावै गाउँपालिकामा हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन नसकेको अवस्थामा स्थानीय सडक सुधार कार्यक्रम (पीएलआरआईपी) बाट सडक जोडिन लागेको हो ।