कञ्चनपुर, मङ्सिर १९ गते । शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका ५८ वर्षीय रामा राना जन्मजात दृष्टिविहीन हुनुहुन्छ । उहाँकी श्रीमती सुदामा राना पनि दृष्टिविहीन हुनुहुन्छ । उहाँहरूको परिवारमा अहिले दुई जना मात्र हुनुहुन्छ ।

 दुवै जनाले आफ्नो दैनिकी सामान्य व्यक्ति जस्तै गरी बिताइरहनुभएको समाजसेवी दिलबहादुर साउदले बताउनुभयो । जन्मदेखि नै फरक क्षमता भएका रामा र सुदामा समुदायका लागि प्रेरणा बन्नुभएको छ । 

कहिलेकाही फुर्सदका बेला छिमेकीले खाना बनाइदिने गरेका रामाले बताउनुभयो । “छिमेकीलाई फुर्सद नभएको बेला दम्पती मिलेर खाना बनाएर खाने गर्छौँ । घर छेउमा बनाइएको नल्का ९धारा० मा भाँडाकुँडा धुने, कपडा धुनेलगायत काम गर्छौँ”, उहाँले भन्नुभयो ।  

“सुरु सुरुमा खाना बनाउन, सामान खोज्न, कपडा धुन निकै अप्ठेरो हुन्थ्यो”, सुदामाले भन्नुभयो, “अहिले बानी परिसक्यो, सबै कार्य अन्दाजका भरमा गर्दै आएका छौँ ।” छामेर कुन दरको नोट ९पैसा० हो भन्नेबारे पनि जान्ने गरेको उहाँले बताउनुभयो । 

रामाका अनुसार छ धुर जग्गामा बनेको घर मात्रै सम्पत्तिका रूपमा रहेको छ । उक्त घर छिमेकीले आर्थिक सहयोग सङ्कलन गरी बनाइदिएका उहाँको भनाइ छ । “भएको सबै जग्गा परिवारले पहिला नै बेचेर सक्नुभयो । जग्गा भएको भए अधिया लगाएर पनि वर्षभरी खान पुग्थ्यो”, उहाँले भन्नुभयो । 

रामा र सुदामा दुवैले नगरपालिकाबाट अपाङ्गता भत्ताबापतको रकम बुझदै आउनुभएको छ । उक्त रकमबाट जीविकोपार्जन भइरहेको रामाले बताउनुभयो । रामाले भर्रा ९झाँक्री०को काम गर्ने भएकाले अन्नको जोहो त्यसबाट हुन्छ । “केहीले घरमा आएर भर्राबाट हेराउने गर्नुहुन्छ । केहीले घरमा लगेर काम गराउनुहुन्छ”, उहाँले भन्नुभयो । सानैदेखि भर्राको काम गर्दै आएको उहाँले बताउनुभयो । 

विसं २०५२ मा विवाहबन्धनमा बाँधिएका दुवै जनाका सन्तान भने छैनन् । असल छिमेकी भएकाले जीवन जिउन सहज भएको राना दम्पतीको भनाइ छ । नगरपालिकाले भत्ता दिने बाहेक सरकारी तथा गैरसरकारी निकायबाट अन्य कुनै पनि सहयोग नपाएको रामाले बताउनुभयो । वृद्ध अवस्थामा दैनिकी सञ्चालनमा समस्या हुने भन्दै स्थानीय सरकारले वृद्ध अवस्थामा अपाङ्गता भएका व्यक्तिलाई सहज हुने नीति ल्याएर उचित व्यवस्थापन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

राना दम्पती दृष्टिविहीन भए पनि सामान्य व्यक्ति सरह जीवन निर्वाह गरिरहेका स्थानीय समाजसेवी साउदले बताउनुभयो । “दुवै जनाले जीविन चलाउन गर्नुभएको सङ्घर्षबाट अरूले पनि पाठ सिक्नुपर्छ”, उहाँले भन्नुभयो, “जीवन जिउने कला राना दम्पतीले समाजलाई सिकाएका छन्, उहाँहरू समाजका लागि प्रेरणाका स्रोत हुन् ।”