कर्णाली, मङ्सिर १९ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विनाशको चपेटाबाट बच्न विकासको ढाँचा बदल्नुपर्ने बताउनुभएको छ । नगर विकास कोषद्वारा आज सुर्खेत वीरेन्द्रगनरमा आयोजित ‘भूकम्प प्रभावित क्षेत्रका प्राविधिकलाई भवनसंहितासम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम’को उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले अहिले भइरहेको जथाभावी विकासको ढाँचा बदल्न नसकिए विपत्तिको चपेटामा परिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले भइरहेको विकासको ढाँचा बदल्न आवश्यक छ । जहाँ देख्यो त्यही माटो खन्ने र जमिन भत्काउने चलन चिन्ताको विषय हो ।” सडक बनाउने नाममा अहिले भइरहेका यस्ता खालका गतिविधि रोक्न प्राविधिकको नै विशेष भूमिका हुने मुख्यमन्त्री कँडेलले बताउनुभयो ।

विकासको आवश्यकताभन्दा रोजगारीलाई केन्द्रित बनाएर गरिने विकासको ढाँचाले धेरै गाउँ बस्ती जोखिममा परेको उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले जनप्रतिनिधिले जहाँ भन्छन् त्यही जमिन भत्काउने कामलाई निरुत्साहित गर्न प्राविधिकलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “विकास कसरी गर्ने र त्यसको दीर्घकालीन असर के हुन्छ भन्ने विषयमा तपाई प्राविधिकले नै सही निर्णय गरेर जनप्रतिनिधिलाई उपयुक्त सुझाव दिने हो । यसललाई दीर्घकालीन र जोखिमरहित बनाउन यहाँहरुकै भूमिका रहन्छ ।”

सबै तहका सरकारसँग चाहिए जति रकम नभए पनि भइरहेको रकमको पनि उचित सदुपयोग नभएको उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले भन्नुभयो, “हामीसँग चाहिएको जति पैसा त छैन तर भइरहेको बजेटबाट पनि प्राथमिकता र आवश्यकतामाथि धेरै ध्यान पुगेको देखिन्न ।” कर्णाली प्रदेश विपदको उच्च जोखिममा रहेकाले यहाँ बन्ने संरचना अरुभन्दा जोखिमरहित बनाउनेतर्फ प्राविधिकले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा २०८० कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि जाजरकोट र रुकुमपश्चिमका ३० इञ्जिनीयर सहभागी रहेका कोषका कार्यकारी निर्देशक विनोदप्रकाश पण्डितले जानकारी दिनुभयो ।