गण्डकी, मङ्सिर १९ गते । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा लक्षित कायक्रम सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । नेपाली काङ्ग्रेस गण्डकी प्रदेश समितिद्वारा आज पोखरामा आयोजित भेटघाट कार्यक्रममा मन्त्री चौधरीले देशका सातवटै प्रदेशमा युवालक्षित कार्यक्रम सञ्चालन गर्ने तयारीमा सरकार लागेको बताउनुभयो ।
साना–साना रोजगारी सिर्जनाका लागि युवालाई ऋण सहयोग गर्ने जस्ता कार्यक्रम अघि सारिएको उल्लेख गर्दै उहाँले त्यसबाट अधिकतम युवा लाभान्वित हुनसक्ने विश्वास व्यक्त गर्नुभयो । पोखरामा खेलप्रेमीको उत्साह देखिएको उल्लेख गर्दै मन्त्री मन्त्री चौधरीले यहाँको पूर्वाधार विकासलगायतमा सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो । उपनिर्वाचनमा देखिएको नतिजा कांग्रेसका लागि सन्तोषजनक रहेको भन्दै उहाँले एकताबद्ध रुपमा पार्टी सङ्गठनलाई क्रयाशिल बनाउनुपर्नेमा जोड दिनुुभयो ।
नेपाली काङ्ग्रेस गण्डकी प्रदेश समिति प्रचारप्रसार विभागका उपप्रमुख शिरोमणि बरालको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका प्रदेश तथा जिल्लास्तरका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।