जनकपुरधाम, मङ्सिर १९ गते। सीताराम विवाहपञ्चमी महोत्सवका अवसरमा जनकपुरधाम नगरक्षेत्रमा आजदेखि मासुु, माछा तथा मदिरा बिक्री वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना प्रकाशितगर्दै आजदेखि तीन दिनसम्म माछा, मासु तथा मदिरा बिक्री वितरणमा रोक लगाइएको हो ।

कार्यालयद्वारा जारी सूचनामा आजराति १२ बजेदेखि मङ्सिर २२ गते राति १२ बजेसम्म जनकपुर नगरक्षेत्रमा मासु, माछा तथा मदिरा बिक्री वितरण नगर्न÷नगराउन आदेश जारी गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको परिक्रमा क्षेत्रभित्र तथा परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्री वितरण, पशुपक्षी काटमार, माछा बिक्रीवितरण तथा उत्पादनलगायत अन्य नशालु पदार्थको सेवन नगर्न÷नगराउन अनुरोधगर्दै ती वस्तु पूर्णरूपमा निषेध गरिएको सूचनामार्फत जनाइएको छ ।

 धनुषाका प्रमुख जिल्ला अधिकारी राजुराम कडरियाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णयगरी सूचना जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जनकपुर नगरदर्शनबाट सुरुहुने विवाहपञ्चमी महोत्सव रामकलेवा गरेसँगै मङ्सिर २२ गते सम्पन्न हुनेछ ।