तनहुँ, मङ्सिर १९ गते। जिल्लाको बन्दीपुर गाउँपालिका–५ स्थित ऐतिहासिकस्थल चन्द्रकोट गढीलाई पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धनगर्न लागिएको छ । गाउँपालिकाले गढीलाई पर्यटन प्रवर्द्धनगर्ने, भ्रमण वर्ष २०२५ मा ‘रुट लिङ्क’ गर्ने, आगामी पुस ७ गाउँसभा बैठक बस्ने, डुम्रे चिसोपानी र बन्दीपुरमा ‘आउटडोर जिम’ का सामान राख्नेलगायत काम थालेको हो ।
बन्दीपुर गाउँपालिकाको चन्द्रगढीमा बसेको सातौँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको गाउँपालिकाका प्रवक्तासमेत रहनुभएका वडा नं १ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । बन्दीपुर बजारबाट पूर्वतर्फ पर्ने बाहुनभञ्ज्याङहुँदै खानीगाउँसम्म सवारीसाधनमा पुगी त्यसपछि २० मिनेट पैदल हिँडेपछि चन्द्रकोट पुग्न सकिन्छ । साथै पृथ्वीराजमार्गको वडा नं ५ स्थित याम्पाबाट थुम्का कोरिखा, बाहुनभञ्ज्याङहुँदै चन्द्रकोटगढीमा पुग्न सकिन्छ । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा चन्द्रकोट पर्नथालेपछि यसको महत्व बढ्दै गएको छ ।
इतिहासको अनुसन्धान एवं अध्ययन गर्नेहरूका लागि चन्द्रकोट विशेष महत्वको स्थान भएकाले यहाँको प्रचारप्रसारगरी संरक्षण र प्रवर्द्धनमा स्थानीय निकाय जुटेको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताउनुभयो । पर्यटकीय गन्तव्यका रूपमा विस्तार गर्नका लागि गाउँ कार्यपालिका बैठक आयोजनागरी यस ठाउँको विकासगर्न योजना बनाइएको उहाँले उल्लेख गर्नुभयो ।
बैठकले आर्थिक वर्ष २०८०÷८१ को आन्तरिक लेखा परीक्षण प्रतिवेदन आन्तरिक लेखापरीक्षक श्रीराम पौडेलले गाउँपालिका अध्यक्ष थापा र प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यलाई हस्तान्तरण गर्नुभएको थियो । गाउँपालिकाको पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसारका लागि यसअघिपनि सिद्धगुफामा कार्यपालिका बैठक बसेको थियो ।
तीस घरधुरीमा खानेपानी
त्यसैगरी, बन्दीपुर–६ हुस्लाङ माझथरमा ‘एक घर एक धारा’ योजनाअनुरुप तीस घरमा खनेपानीका धारा जडानगरी पानी वितरण गरिएको छ । स्थानीय माझथर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामार्फत रु १० लाखको लागतमा खानेपानीका धारा निर्माण गरिएको हो ।
प्रत्येक घरमा खानेपानीका धारा जडानपश्चात् स्थानीयले स्वच्छ पानी पाएका छनभने दैनिकी सहज बनेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो कार्यकालमा बन्दीपुरका सबै घरमा खानेपानीको धारा पु¥याउनेगरी काम भइरहेको छ ।”