काठमाडौँ, मङसिर १९ गते। काठमाडौँ उपत्यकाको प्राचीनकालीन इतिहासमा टोखा प्रख्यात सहरका रुपमा रहेको तथ्यलाई त्यहाँ प्राप्त भएको संवत् ५१९ शिवदेव–अंशुवर्माको अभिलेखबाट स्पष्ट हुन्छ । यस अभिलेखको अध्ययनले प्राचीनकालमा यो स्थान एक व्यवस्थित सहरका रूपमा विकसित भएको देखिन्छ । धनवज्र बज्राचार्यले उतार गर्नुभएको अभिलेखमा शिवदेव र अंशुवर्माले टोखामा राखेको अभिलेखमा काठमाडौँ–उपत्यकाको उत्तरी भेगमा धर्मस्थलीको हाराहारी टोखा नामक प्रसिद्ध बस्ती रहेको विश्लेषण गरिएको पाइन्छ । यस सन्दर्भले लिच्छवीकालमा शहरलाई टोखा नामले पुकारिन्थ्यो भन्ने पुष्टि गर्छ । यस अभिलेखमा “तिलमक” र “गुल्म” जस्ता शब्द प्रयोग गरिएको छ । वज्राचार्यले तिलमक शब्दलाई किरातकालीन शब्द भएको उल्लेख गर्नुभएको छ । यसले त्यसताका टोखाले कृषि क्षेत्रमा निकै अन्न उत्पादनगर्ने गरेको देखिन्छ । त्यसैगरी अर्को शब्द गुल्मले त्यस समयमा टोखा एउटा किल्लाको रुपमा रहेको पाइन्छ ।

त्यतिबेला उत्तरतिरबाट भइरहने आक्रमणबाट कान्तिपुरलाई सुरक्षित राख्नका लागि टोखालाई चारैतिरबाट पर्खालले घेरी बलियो किल्ला बनाएको देखिन्छ । प्रताप मल्लले भीम मल्ललाई टोखाको बाटोगरी तिब्बत क्षेत्रको राज्य विस्तारगर्न पठाएको चर्चा पाइन्छ । यसले आफ्नो पराक्रमले तिब्बतलाई कान्तिपुरी राज्यको अगाडि झुकाएर नेपालको हितमा महत्वपूर्ण सन्धि गरेका थिए । स्थानीयका भनाइअनुसार टोखाको बाटोहुँदै प्राचीनकालमा व्यापारीहरु टोखा, नुवाकोट, रसुवाहुँदै केरुङ जानेगरेको बताइन्छ । 

टोखा प्राचीनकालमा चाकुका लागि निकै प्रसिद्ध रहेको थियो । नेपाल भाषामा ‘तु’ को अर्थ उखु, ‘ख्य’ को अर्थ फल्ने स्थानका रुपमा परिभाषित गरिएको छ । आजसम्म टोखाको चाकुलाई मौलिक र विशिष्ट चाकुका रुपमा लिने गरिएको देखिन्छ । यसअनुसार यो क्षेत्रको नामकरणको ‘तुख्य’ बाट अपभ्रंश हुँदै टोखा रहनगएको विश्वास अझै ताजा छ । लिच्छवीकालमा ‘खा’ प्रत्यय लागेका स्थाननाम शब्दहरू पाइन्छन् ती ‘खा’ संस्कृत भाषा नभएर तिब्बती वर्मन हुन् । यस्ता प्रत्यय नेवारी भाषामा अहिलेपनि प्रयोग हुनेगर्दछ ।

उपत्यकामा अरूपनि ‘खा’ प्रत्यय लागेका स्थाननाम शब्दहरू छन् । यट्खा, प्यूखा आदि अझैपनि प्रचलित स्थानका रूपमा रहेका छन् । कतिपय संस्कृतिविद्ले यस स्थानमा प्राचीनकालमा अत्यधिक रूपमा उखु पाइने हुनाले त्यसको नाम ‘तुखा’रहेको र नेवारहरूले आफ्नो बोलीचालीको उच्चारणमा ‘त’ लाई ‘ट’ भन्ने गरेको हुँदा उच्चारणगर्न सजिलोका लागि तोखाबाट पछि अपभ्रंश भएर टोखा हुनगएको भन्ने चर्चापनि पाइन्छ । यहाँ उखु उत्पादनहुने भएकाले नेवारी भाषामा यसको नाम ‘तुखा’ बाट पछि गएर ‘टोखा’ रहन गएको भन्ने भनाइ छ । 

एक अर्को किंवदन्तीअनुसार प्राचीनकालमा यो गाउँ एक सहरका रूपमा रहेकोहुँदा त्यस समयमा ‘टो’ नाम गरेको एउटा ‘ख्याक’ (राक्षस) ले मानिसलाई दुःखदिई हैरान बनाएको थियो । एक तान्त्रिकको सहयोगमा त्यो दुष्ट ख्याकलाई मारिएको हुँदा त्यही ‘टो’ शब्द पछि गएर टोखा हुनगएको भन्ने जनश्रुति छ । त्यसैगरी, मध्यकालमै टोखालाई लक्ष्मीपुरपनि भनिएको पाइन्छ । मध्यकालमा टोखा एउटा सामरिक स्थलका रूपमा पनि प्रसिद्धि पाएको देखिन्छ । यसको उल्लेख सर्वप्रथम नेपाल संवत् ३७५ मा गरिएको छ । 

त्यहाँ जयदेवले किल्लामा रहेको सुन लुटेकोहुँदा टोखा र नेपी किल्लाहरूले विद्रोह गरेको समेत उल्लेख गरिएको पाइन्छ । यसबाट मध्यकालको पूर्वाद्धमा टोखा एउटा बलियो किल्लाका रूपमा प्रतिष्थापित भएको देखिन्छ । उपत्यकाका चारैतिर होचा पहाडमा किल्लाका अवशेष भएको र ती किल्लाका चारैतिर खाई र ढिस्का देखेको कुराको वर्णन गरिएको छ । उपत्यकाका चाँगुनारायण, स्वयम्भू, बज्रयोगिनी, पशुपतिनाथ आदि देवस्थलहरू वनगढका रूपमा प्राचीनकालदेखि नै रहेका छन् । यी तथ्यहरूबाट टोखाको बस्ती मध्यकालको पूर्वाद्धभन्दा अगाडिनै बसेको कुरालाई पुष्टि गर्दछ । गोपाल वंशावलीमा नेपाल संवत् ३७४ आश्विनमा जयदेवले टोखाको किल्लाको सुन लुट्न आउँदा नेपी क्वाठ र टोखा क्वाठ किल्लाहरूले विद्रोहगरी धपाएको उल्लेख छ । त्यसैगरी, नेपाल संवत् ४४६ मा पशुपति मल्ल टोखामा गएर बसेका थिए भनिन्छ । त्यसैगरी, नेपाल संवत् ४६० पुसमा भएको विद्रोहमा गोपालदेवको हत्या गरिएको थियो । नेपाल संवत् ४७८ मङ्सिरमा नुवाकोटका एक प्रसिद्ध भारदार जुतपाल त्यहाँबाट निष्कासितहुँदा टोखामै शरण पर्न आएको देखिन्छ । 

टोखाले विसं १८२२ जेठमा कुनै प्रतिकार नगरी पृथ्वीनारायण शाहसँग मिल्न गएकाले कान्तिपुर राज्यअन्तर्गतको टोखा प्रदेश गोरखा अधिराज्यमा विलीन भएको ऐतिहासिक तथ्य पाइन्छ । मध्यकालको पूर्वाद्धका समयमा घटेका विभिन्न घटनाले टोखा विद्रोहीहरूको शरणस्थलका रूपमा चर्चित मानिन्थ्यो । लिच्छवीकालमा नै टोखाका रुपमा प्रसिद्ध कमाएको टोखालाई मध्यकालको उत्तराद्र्धका प्राप्त भएका दुई दर्जनभन्दा बढी अभिलेखमा ‘तोखा देश’, ‘टोखा ग्राम’ ‘जयपुरी देश’, ‘जयपुरी नगर’ र ‘लक्ष्मीपुर’ भनेर उल्लेख गरिएको देखिन्छ । 

मध्यकालमा कुनै एउटा प्रदेशको नाम जनभाषा र संस्कृत भाषामा बेग्लाबेग्लै राखिने प्रचलन रहेको थियो । त्यसको आधारमा टोखाको नामकरण जनभाषामा टोखा र संस्कृतिमा जयपुर रहेको भनी ऐतिहासविद् टेकबहादुर श्रेष्ठले विश्लेषण गर्नुभएको छ । प्रचलित किंवदन्तीअनुसार एक दिन एक भिक्षु भिक्षा माग्दै हिँड्ने क्रममा उनले अपेक्षा गरेको भन्दा अधिक अन्न यहाँँका बासिन्दाले दान दिएछन् । यसबाट अत्यन्त खुसी भएका भिक्षुले यस गाउँका सम्पूर्ण मानिसको निवासमा लक्ष्मीले बास गरून् भनेर सदिच्छा व्यक्त गरेका हुनाले यसै समयदेखि यस गाउँलाई ‘लक्ष्मीपुर’ नाउँले चिन्न थालिएको हो भन्ने भनाइपनि पाइन्छ । शाहकालमा आउँदासमेत टोखाले महत्वपूर्ण स्थलका रुपमा रहेको देखिन्छ । 

टोखाका अमूल्य सम्पदाहरुः टोखा सरस्वती र टोखा चण्डेश्वरीमा लिच्छवीकालीन, मध्यकालीन र शाहकालीन समयमा समेत महत्वपूर्ण राजनीतिक भूमिका निर्वाह गरेको देखिन्छ । यसरी नै विभिन्न समयमा मानव निर्मित सांस्कृतिक सम्पदाहरुको निर्माण यहाँ भएको पाइन्छ । यहाँ विशेषगरी शैव, शाक्त, वैष्णव र बौद्धलगायतका विभिन्न धार्मिक सम्प्रदाय अन्तर्गतका मठमन्दिर, ढुङ्गेधारा, पाटीपौवा, डबली, विभिन्न अभिलेख लगायत भौतिक सांस्कृतिक सम्पदाहरु रहेका छन् । यहाँ नेपालको सनातन धार्मिक एवं बौद्ध परम्परामा स्थान, सम्मान र महत्व पाएका ३३ कोटी देवीदेवतासँग गाँसिएको धार्मिकस्थलहरु रहेका छन् । त्यसरीनै नेपालमा मण्डलका चौसठ्ठी शिवलिङ्गमध्ये चण्डिकेश्वर, धर्मेश्वर र गोकर्णेश्वर यसै क्षेत्रमा पर्ने धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ । वर्तमान अवस्थामा धर्मेश्वर बूढानीलकण्ठ नगरपालिका र गोकर्णेश्वर गोकर्णमा क्षेत्रमा रहेको छ । यी दुवै शिवलिङ्गलाई टोखाको सुप्रसिद्ध तीर्थका रुपमा नेपाल महात्म्यले चिनाएको देखिन्छ । हिमालयको पुत्री पार्वतीले महादेवलाई पतिका रुपमा प्राप्तगर्न टोखाको पिण्डारक तीर्थमा नुहाई चण्डिकेश्वर महादेवको पूजा तथा आराधना गरेको स्वस्थानी व्रतकथामा चर्चा गरिएको छ । 

टोखा प्रशासनिक इकाइका रुपमा रहेकाले जीवित गणेश–कुमारी, तलेजु भवानी, चण्डेश्वरी भगवती, सपनतीर्थ, सङ्कटामाई (मसानकाली), माथिल्लो सिद्धिगणेश, तल्लो क्वोथु गणेश रहेका छन् । त्यसैगरी, नारायणको मन्दिर, सरस्वती मन्दिर, रुद्रेश्वर महादेव, नाटेश्वरी, तलेजु भवानीको मन्दिर, भीमसेनको मूर्ति, बज्रयोगीनी देवी, लल बुद्धको मूर्ति र पच्चबुद्धको मूर्तिहरु रहेका छन् । यसरी नै थनेलाछीको डबली, कोनेलाछीको डबली, ढुङ्गेधाराहरु, जलद्रोणी, गणेशपोखरी, नारायणपोखरी, इनार, कुवा, पाटी, पौवाहरु अझै अस्तित्वमा छन् । यहाँ प्राचीनकालीन प्रवेशद्वारलगायत टोखाको चारैतर्फ अन्य पाँचवटा प्रवेशद्वार रहेका छन् । यहाँ किराती राजा यलम्बरको पूजागर्ने परम्परा अझै कायम रहेको पाइन्छ । यहाँको मौलिक सांस्कृतिक सम्पदाका रुपमा चाकु उत्पादन अझै प्रसिद्ध रहेको छ । 

यहाँ रहेका अभौतिक सम्पदाहरुमा घण्टाकर्ण जात्रा, चाकु निर्माण प्रविधि, गाईजात्रा, नागपञ्चमी, कृष्णाष्टमी, इन्द्रजात्रा, दसैँ, तिहार, तलेजुको पूजा, बालाचतुर्दशी, योःमरी पुन्ह्ी, माघेसङ्क्रान्ति, स्वस्थानी व्रत, शिवरात्रि, फागु पूर्णिमा, लिङ्गो गाड्ने, बिस्केट जात्रा, लाखेनाच, बाँदरनाच, मयूरनाच, नाग–नागिनीनाच, कुमारी जात्रा तथा नेपाल संवत् उत्सवका रुपमा मनाउने गरिएको छ । यहाँको प्रसिद्ध जात्राका रुपमा बिस्केट जात्रालाई लिइने गरिएको देखिन्छ । वैशाख १ देखि ५ गतेसम्म सातवटा देवीदेवतालाई खटमा राखी टोखा नगर परिक्रमा गराउने परम्परा अहिलेपनि छ ।

त्यसैगरी, सपननीर्थ स्नान अर्को महत्वपूर्ण तीर्थस्थलका रुपमा प्रसिद्धि कमाएको छ । यहाँ स्नान गर्नाले मानिसको शरीरमा आएका घाउ, खटिराहरु निकोहुने जनविश्वास रहेको छ । टोखाका नेवार समुदायका बासिन्दाले सगुनदिने, भोज र समय्बजीलाई महत्वपूर्ण रुपमा लिने गर्दछन् । यिनीहरुले सगुनदिँदा उसिनेर तेलमा तारेको अण्डा, सुकेको घुम्रिएको माछा तेलमा तारेको, मास भिजाएर राम्ररी धोएपछि पिँधेर चाक्लोगरी तावामा तेल हालेर बनाएको बारा, मासुका दुई टुक्रा र रक्सी वा दहीको प्रयोग गर्दछन् । यिनीहरुले जुनसुकै जात्रापर्व, उत्सवमा भोज खाने गर्दछन् । यस्ता भोज खाँदा चिउरा, अचार, गेडागुडी, राँगाको मासु, तरकारी, छ्यला, कवाफ, गोलभेँडाको अचार, फर्सी, भुटन, साग, लब्सीको अमिलो झोल, रक्सी र जाँड, रोटी र दही, फलफूल, ताखामही दिने गरिन्छ । 

चाडपर्वमा धेरैजसो समयबजीको प्रयोग गर्दछन् । यसमा चिउरा, स्याःबजि, कालो भट्मास भुटी साँधेको, लसुन अदुवा साँधेको, छवय्ला, सुकेको माछा, रक्सी वा जाँड, बोडी उसिनेर साँधेको, आलु उसिनेर साँधेको, बारा, अण्डा आदि दिने चलन छ । यहाँ शास्त्रीय परम्परामा आधारित यहाँका सङ्गीत धुनहरुले टोखालाई मनोरञ्जन दिने गर्दछ । विशेषगरी व्याँचुली धुनले मिर्मिरे बिहानीपखाको आभास दिन्छ भने मालश्री धुनले दसैँ, तिहार र धातुको धुनले बिस्केट जात्राको आभास दिलाउँछ । यहाँ बजाउने बाजाहरुमा धिमेबाजा प्रसिद्ध रहेको छ । यसको तालमा बच्चा, बूढाबूढी, तन्नेरीहरु खुसीले नाच्ने गर्दछन् । 

सङ्कटापन्न सांस्कृतिक सम्पदाहरुको संरक्षण 

टोखामा रहेका भौतिक तथा अभौतिक सांस्कृतिक सम्पदाहरु सङ्कटापन्न स्थितिमा रहेका छन् । कतिपय सम्पदाहरु संरक्षणको अभावमा लोपहुने स्थितिमा पुगेका छन् । नयाँपुस्ता आफ्नो भाषा तथा जातीय संस्कृतिबाट टाढिँदै गएको अवस्था छ । आज जीवित रुपमा सांस्कृतिक परम्पराहरु भविष्यमा हराएरजाने सम्भावना देखिन्छ । टोखा क्षेत्रमा रहेका परम्परागत शिल्पकला सम्बन्धी ज्ञानलाई एकपछि अर्को पुस्तासम्म हस्तान्तरण गर्दैजाने चलन हराउन थालेको छ । युवा पुस्तामा आफ्नो पुख्र्यौली पेसालाई चटक्कै छोडेर पलायनहुने क्रम बढेको छ ।

यस्ता सम्पदाहरुको संरक्षणका लागि नेपाल सरकारले संस्कृति नीति, २०६७ लागूगरी भौतिक तथा अभौतिक सम्पदाको परम्परागत भौतिक लोककला, शिल्पकला उत्पादनगर्ने, सीप संरक्षणका लागि देशभित्र रहेका सबै जाति र समुदायको संस्कृतिको सूचीकरण गर्नुपर्नेमा जोड दिएको देखिन्छ । नेपालको संविधानमा प्रत्येक व्यक्ति र समुदायलाई आफ्ना भाषा, लिपि, संस्कृति, सांस्कृतिक जीवनमा सहभागी हुनपाउने, सांस्कृतिक सभ्यता र सम्पदाको संवद्र्धन र संरक्षणगर्ने मौलिक हकका रुपमा व्यवस्था गरिएको छ । अमूर्त सांस्कृतिक सम्पदा महासन्धि २००३ ले समेत सांस्कृतिक सम्पदाको संरक्षणका लागि महत्वपूर्ण भूमिका खेलेको छ । 

टोखा क्षेत्रमा रहेको मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाहरुको संरक्षणका लागि गुठीको अहम् भूमिका रहेको देखिन्छ । यिनीहरुले जात्रा पर्व सञ्चालन, मठमन्दिरको संरक्षण चाडपर्व रीतिरिवाज संस्कार, संस्कृति सञ्चालनगर्न विभिन्न गुठीहरु सक्रिय रहेका छन् । भौतिक सांस्कृतिक सम्पदाअन्तर्गत रहेका मठमन्दिर, इनार, पाटी–पौवाको पुनःनिर्माण, जीर्णोद्धार गर्दैआएका छन् । अभौतिक सांस्कृतिक सम्पदामा मानिसहरुको मुत्यु संस्कारसँग सम्बन्धित सना र सी गुठी, कुल देवताको पूजासँग देवाली गुठी, नाचगान नास द्यः गुठी, सरस्वतीको पूजाको सु गुठी र वर्षभरिनै सञ्चालन भइरहने जात्रा, चाडपर्व, देवी नाच, सङ्गीत सञ्चालनगर्न, मठ मन्दिर विशार चैत्यको सम्बद्र्धन गर्न, दैनिक, वार्षिक तथा अर्धवार्षिक रुपमा पूजाआजागर्न विभिन्न धार्मिक गुठीहरु बन्दोबस्त गरेको देखिन्छ ।