मनहरी, मङ्सिर १८ गते । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले लोकतन्त्रको बलियो पक्ष धार्मिक स्वतन्त्रता रहेको बताउनुभएको छ । उहाँले संविधान निर्माणपछि देशमा धार्मिक स्वतन्त्रता कायम भएको स्पष्ट पार्नुभयो ।
राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपाल मकवानपुरद्वारा हेटौँडामा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री लामाले लोकतन्त्रपछि देशमा धार्मिक स्वतन्त्रता आएको बताउनुभयो । पञ्चायतकालमा धर्म प्रचार गर्दा धार्मिक स्वतन्त्रतामा बन्देज लागेर धेरैले कारबाही भोग्नुपरेको भन्दै लोकतन्त्रको सबल पक्ष भनेकै सबैमा स्वतन्त्रता भएको बताउनुभयो ।
लोकतन्त्रपछि मठ, मन्दिर, गुम्बा, चर्च निर्माणमा तीव्रता आएको बताउँदै उहाँले धार्मिक स्वतन्त्रतामा अरूलाई होच्याएर विभेद गर्न नहुने बताउनुभयो । आ–आफ्ना फरक आस्था र विश्वास बोकेका भए पनि सबै नेपाली भएकाले फरक आस्थाको कारणबाट आफ्नो देशप्रतिको माया र नागरिक दायित्वबोधमा कुनै तलमाथि गर्न नहुने उहाँले बताउनुभयो ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामाले धर्ममा सबैको स्वतन्त्रता रहेको बताउनुभयो । धार्मिक स्वतन्त्रताको नाममा अराजक व्यक्तिले विभेदका घटना पैदा गरेको हुँदा त्यस्तालाई कानुनी दायरमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
विविधताबीचको एकता र सद्भावको यो गौरवपूर्ण परम्परा र इसाई धर्मावलम्बीको महान चाडको अवसरमा शुभकामना व्यक्त गर्नुभयो । राष्ट्रिय खिष्टियन महासङ्घ मकवानपुरका अध्यक्ष नवराज घलानको अध्यक्षतामा भएको कार्यक्रममा घलानले फरक आस्था र विश्वास बोकेका आफ्ना नागरिकप्रति राज्यकातर्फबाट सम भाव र सम व्यवहार गरिदिन आग्रह गर्नुभयो ।