काठमाडौँ, मङ्सिर १७ गते । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज काठमाडौँ गुर्खाजविरुद्धको खेलमा चितवन राइनोजले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको टसमा चितवन राइनोजका कप्तान कुशल मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । यससँगै काठमाडौँ गुर्खाजले अब पहिला ब्याटिङ गर्नेछ ।

चितवनको विदेशी खेलाडीमा पाकिस्तानका सोहेल तनविर, इङ्ग्ल्याण्डका भेट्रान अलराउण्डर रवि बोपारा, नामिबियाका जान निकोल लफ्टी इटन, इङ्ग्ल्याण्डका लुक बेन्केन्सटाइनलाई र अफगानिस्तानका हसन एइसाखिल छन् । त्यस्तै काठमाडौँको विदेशी खेलाडीमा इङ्ग्ल्याण्डका स्टेफेन इस्किनाजी, डान डौथवेट र नाथन सोटर तथा नेदरल्याण्ड्सका माइकल लेभिट र नामिबियाका जेरार्ड एरासमस छन् । दुवै टोलीले जित निकाल्ने उद्देश्यका साथ प्रतिस्पर्धा गर्दैछन् ।

आजको खेलका लागि सुरक्षा व्यवस्था भने कडा पारिएको छ । यसअघि जनकपुर बोल्ट्स र विराटनगर किंग्सविरूद्धको उद्घाटन खेलमा व्यवस्थापनको कमजोरीका कारण दर्शक र सुरक्षाकर्मीबीच झडप भएको थियो । कतिपय दर्शकले टिकट काटेर पनि मैदानभित्र पस्न नपाउँदा तनाव सुरु भएको थियो । जसका कारण आज सुरक्षा व्यवस्था कडा पारिएको हो । शनिबार भएको एनपिएल उद्घाटन खेलमा जनकपुर बोल्टस्ले विराटनगर किंग्सलाई पराजित गरेको थियो ।