चितवन, मङ्सिर १६ गते। कृषि तथा वन विज्ञान विश्वविद्यालयको आयोजनामा कृषि प्रदर्शनी तथा किसान मेला हुनेभएको छ । विसं २०७६ मा पहिलो पटक मेला आयोजना गरेको विश्वविद्यालयले पाँच वर्षपछि दोस्रो संस्करण सुरुगर्न लागेको हो ।

मेला आयोजक समारोह समतिका संयोजक एवं विश्वविद्यालयका अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक डा ऋषिराम कट्टेलका अनुसार यही मङ्सिर २९ गतेदेखि आगामी पुस ३ गतेसम्म मेलाको आयोजनागर्न लागिएको हो । विश्वविद्यालयले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी मेलाका बारेमा जानकारी गराएको हो । किसानको ज्ञान, सीप र दक्षता अभिवृद्धिगर्ने उद्देश्यले आयोजनागर्न लागिएको मेलामा १३५ कक्ष रहने छन् ।

कट्टेलका अनुसार विश्वविद्यालयको कृषि सङ्कायको परिसरमा हुने मेलामा कृषि प्रविधि, नवप्रवर्तन तथा अनुसन्धानका विषयमा समेत छलफल हुनेछ । यहाँ किसानलाई आवश्यकपर्ने नयाँ प्रविधिको प्रदर्शनी किसानले अवलम्बन गरेका प्रविधि, सीप तथा ज्ञानको विषयमासमेत छलफलहुने उहाँले बताउनुभयो ।

कार्यक्रम अवधिभर कृषि क्षेत्रको नीतिगत बहस, कृषि रुपान्तरणका विषयमा कृषि उद्यमी तथा सरोकारवालासँग छलफल, दिगो पशुपालन भेटेरीनरी सेवा तथा मानव–वन्यजन्तु द्वन्द्वव्यवस्थापन लगायतका विषयमा समूहगत छलफलहुने कट्टेलले जानकारी दिनुभयो ।

मेलाबाट १० हजारभन्दा बढी किसानले लाभलिने अपेक्षा गरिएको उहाँले बताउनुभयो । मेला किसान, विद्यार्थी र अनुसन्धानकर्ताबीच छलफल तथा कृषि क्षेत्रमा देखिएका समस्याको समाधानका लागि कोशेढुङ्गा बन्ने उहाँको विश्वास छ । विश्वविद्यालयका निमित्त उपकुलपति प्राडा अर्जुनकुमार श्रेष्ठले मेला अवधिमा विश्वविद्यालयबाट अध्ययनगरी गएका र रामपुर क्याम्पसहुँदा उत्तीर्ण उद्यमशीलतामा लागेका विद्यार्थीलाई सम्मानगर्ने कार्यक्रमसमेत रहेको छ ।

उहाँले भन्नुभयो, “सबै विद्यार्थी हाम्रालागि समानहुन्, सबैलाई सम्मानगर्ने छौँ ।” उद्यममा लागेकाबीच मूल्याङ्कनगरी तीन जनालाई पुरस्कृतसमेत गर्ने कार्यक्रम रहेको छ । विगतमा सुरुवात गरिएको मेला कोरोना लगायतका कारणले स्थगित भएको जनाउँदै उहाँले यस कार्यक्रमलाई अब हरेक दुई÷दुई वर्षमा गरिने बताउनुभयो ।