तनहुँ, मङ्िसर १६ गते। जिल्लाको व्यास नगरपालिका–१ र २ जोड्नेगरी कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा सवारीसाधन सञ्चालनगर्न मिल्नेगरी पुल निर्माण सुरुभएको छ ।

व्यास नगरपालिकाको समपूरक योजनाअन्तर्गत रु छ करोड ११ लाख तीन सय २४ लागतमा निर्माणाधीन उक्त पुलको ५० प्रतिशतबढी भौतिक प्रगति भएको हो । पुल २५ मिटर लम्बाइ र आठ दशमलव ४० मिटर चौडाइको हुनेछ । 

पुल बनेपछि आवागमन सहज हुनुकासाथै खोला किनारका करिब एक सय घर संरक्षणमा सहयोगपुग्ने सामुदायिक टोल विकास संस्था कराङकाठ बसपार्कका अध्यक्ष सोमनाथ पौडेल बताउनुभयो । 

हाल पुल निर्माण गरिएको स्थान नजिक कजवेबाट (पाइप राखेर बनाइएको अस्थायी संरचना) सवारीसाधान आवतजावत हुँदैआएको थियो । वर्षायामको समयमा खोलामा बाढी आउँदा कजवेबाट पानी निकासा हुन नसक्दा खोला आसपासका बस्तीमा पानी पसेर क्षति हुनेगरेको थियो ।

आगामी भदौ २२ गतेभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनी ज्वालामुखी कन्स्टक्सनसँग सम्झौता भएको व्यास नगरपालिकाका योजना शाखा अधिकृत भेषराज तिवारीले बताउनुभयो । कम्पनीले गत वैशाखदेखि निर्माणलाई निरन्तरता दिएकाले छोटो अवधिमा उल्लेख्य प्रगति हासिल भएको उहाँको भनाइ छ । 

“सम्झौता अवधि भन्दा अगावै सम्पन्नगर्ने अपेक्षा गरिएको छ”, शाखा अधिकृत तिवारीले भन्नुभयो, “निर्माण कम्पनीले फागुनभित्र सम्पन्नगर्ने प्रतिबद्धता जनाएका छन् ।” सम्झौता अगावै निर्माण सम्पन्न गरेमा नगरपालिकाले पुरस्कृतगर्ने योजना बनाएको उहाँले बताउनुभयो ।