भद्रपुर, मङ्सिर १६ गते। जिल्लाका तीन छुट्टाछुट्टै ठाउँमा गएराति आगलागी हुँदा रु १९ लाख ६० हजारभन्दा बढीको क्षति भएको छ ।
दमक नगरपालिका–१ का शिव राईको घरको भुइँतलामा रहेको किराना कस्मेटिक र खाद्यान्न पसलमा विद्युत् सटभई आगलागीहुँदा पसलमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएकाछन् । आगलागीबाट १५ लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
गए रातिनै झापा गाउँपालिका–७ रमितेटोलका लुखी हस्दाको घरमा विद्युत लाइन सटभई आगलागीहुँदा टिनको छानो र बाँसको टाटीले बनेको तीनकोठे घर र सामान जलेर पूर्णरूपमा क्षति पुगेको छ । उक्त घर नजिकै रहेको ग्वाली कोठामा क्षतिपुग्दा रु दुई लाख ५० हजार बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, अर्जुनधारा नगरपालिका–११ सालबारीस्थित भूमिनाथ बराल र अमर राउतले एक बिघा जमिनको धान काटिराखेका कुनिउमा आगलागी भएको छ । यसरी अचानक आगलागीहुँदा धान र कुनिउ जल्दा रु दुई लाख १० हजार बराबरको क्षति भएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।
प्रनाउ चन्दका अनुसार आगलागी भएका तीनवटै ठाउँको आगो स्थानीय तहका दमकल, स्थानीय मानिस र प्रहरीको सहयोगमा निभाइएको छ । आगलागी सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।