म्याग्दी, मङ्सिर ९ गते। यस जिल्लामा करिब तीन हजार उद्योग सञ्चालनमा रहेका पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ ।

दशौँ उद्योग दिवस–२०८१ का अवसरमा आज पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले आयोजना गरेको कार्यक्रममा कार्यालय प्रमुख पोषानाथ शर्माले तीन हजार तीन सय ८४ उद्योग दर्ता भएकामा दुई हजार नौ सय १९ वटा सञ्चालनमा रहेका जानकारी गराउनुभयो । 

“पछिल्लो केही वर्षयता उद्योग ब्यवसाय दर्ताको तुलनामा खारेजी हुनेको दर बढेको छ”, उहाँले भन्नुभयो, “वैदेशिक रोजगारका लागि कारोबार देखाउन, बैंकबाट ऋण र राज्यबाट अनुदानलिन कागजी प्रक्रिया पूरागर्न दर्ता भएका उद्योग र व्यवसाय उद्देश्य पूरा भएपछि कर तिरिरहनुभन्दा खारेज भएका हुन् ।”

आर्थिक वर्ष २०८०÷८१ मा दुई सय ११ उद्योग, व्यवसाय दर्ता भएको कार्यालयमा ८४ वटा खारेज भएका थिए । कार्यालयका अनुसार २०८०÷८१ मा ३१ वटा उद्योग र ५३ वटा व्यावसायिक फर्म खारेज भएका हुन् । आर्थिक वर्ष २०७९÷८० मा १४ वटा उद्योग र २९ वटा व्यावसायिक फर्म खारेज भएका थिए । 

आर्थिक वर्ष २०७७÷७८ मा सात सय ६२, २०७८÷७९ मा पाँच सय ७० र २०७९÷८० मा तीन सय १७ वटा उद्योग र व्यावसायिक फर्म दर्ता भएका थिए । गत वर्ष तीन सय २२ उद्योग र तीन सय ९४ व्यावसायिक फर्मले नवीकरण गरेका थिए । गतवर्ष दर्ता भएका उद्योगमा तीन सय जनालाई रोजगारी सिर्जना भएको कार्यालय प्रमुख शर्माले बताउनुभयो ।  

म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुवीन श्रेष्ठले कोरोना महामारी पछि आर्थिक मन्दीका कारण उद्यमी व्यवसायी विदेश पलायनहुने र अन्य पेसा रोज्नेक्रम बढेको बताउनुभयो ।  उद्योग वाणिज्य सङ्घको चुनावी प्रयोजनका लागि दर्ताभएका व्यावसायिक फर्महरुपनि पछिल्लो समय स्थानीय तह, उद्योग तथा पर्यटन कार्यालय र आन्तरिक राजस्व कार्यालयमा कर तिर्नुपर्ने भएपछि बन्दगर्न थालेका हुन् । 

यसैगरी दशौँ उद्योग दिवस–२०८१ का अवसरमा पर्यटन तथा उद्योग कार्यालय, म्याग्दीले तीन जना उद्यमीहरुलाई सम्मान गरेको छ । रघुगङ्गा गाउँपालिका–१ बेगकी मेनुका सिलाइकटाइ तथा प्रशिक्षण केन्द्रका मेककुमारी पुन, बेनी नगरपालिका–८ गणेशटोलको वेदना सु–सेन्टरका सुकलाल किसान र बेनी नगरपालिका–७ कुरिलाखर्कको शर्मा कृषि तथा पशपक्षी फार्मका सञ्चालक कृष्णप्रसाद शर्मालाई सम्मान गरिएको हो । 

गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रेशमबहादुर जुग्जाली (सुविन), जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाललगायतले उहाँहरुलाई दोसल्लो ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । 

प्रदेशसभा सदस्य जुग्जालीले म्याग्दीमा आवश्यकता र सम्भावनामा आधारित भएर सीपमूलक तालिम सञ्चालनगर्न आवश्यक भएको बताउनुभयो । गण्डकी प्रदेशसभाबाट स्थानीय मदिरासम्बन्धी कानुन निर्माणको अन्तिम चरणमा रहेको जानकारी गराउँदै म्याग्दीमा पनि यस किसिमका उद्यम स्थापनागरी मदिरा आयात घटाउन आवश्यक देखिएको विचार व्यक्त गर्नुभयो ।