चौतारा, मङ्सिर ९ गते। साँगाचोकगढी नगरपालिका–१४ डडुवाका किसान ओमबहादुर बस्नेत आफूले सुरुगरेको ‘ड्रागन फ्रुट’ खेतीबाट मनग्य आम्दानी भएपछि खेती विस्तारको योजना बनाउनुभएको छ ।

छ रोपनीमा रु ३० लगानी गरेर खेती सुरु गर्नुभएका उहाँले स्वदेशमानै पाखुरा बजार्न युवा पुस्तालाई आग्रह गर्नुभएको छ । बजारमा ड्रागन फ्रुटको उच्चमाग भएकाले मागअनुसार आपूर्तिगर्न आफूलाई हम्मेहम्मे परेको उहाँ बताउनुहुन्छ ।

विदेशजाने खर्च आफ्नै घरगाउँमा ड्रागन फ्रुटका लागि गरेमा वार्षिक रु १२ देखि १५ लाखसम्म कमाउन सकिने उहाँको सुझाव छ । जुनसुकै मौसम र माटोमा यो फल लाग्ने भएकाले उहाँले युवालाई स्वदेशमानै श्रमगर्न सुझाउनुभएको हो । वर्षको दुईपटक उत्पादनहुने ड्रागन फ्रुट प्रतिकिलो रु पाँच सयभन्दा बढीमा बिक्रीहुने गरेको छ ।

चौतारा साँगाचोकगढी नगरपालिकाले ड्रागन फ्रुटखेतीलाई प्रोत्साहनगर्न तारबारका लागि रु चार लाखसहयोग गरेको छ । एकपटक बिरूवा लगाएपछि समय–समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य काम गर्नुनपर्ने र रोपेको दुई वर्षदेखि लगातार लामो समयसम्म फलदिने हुनाले अन्य खेतीबालीको तुलनामा यसको खेतीबाट प्रशस्त आम्दानीहुने उहाँ बताउनुहुन्छ ।