जनकपुरधाम, मङ्सिर ८ गते । तेह्रौँ राष्ट्रिय कर दिवसका २०८१ का अवसरमा विभिन्न चार उद्योग सम्मानित भएका छन् । आन्तरिक राजस्व कार्यालय जनकपुरधामद्वारा आज जनकपुरधाममा आयोजित कार्यक्रममा क्षिरेश्वर डिस्टलरी धनुषा, रक्षा ट्रेडर्स एण्ड सप्लायर्स महोत्तरी, नेपाल भेनियर उद्योग सर्लाही तथा सुनिता आयल सेन्टर सिन्धुली सम्मानित भएका हुन् ।

आन्तरिक राजस्व कार्यालय जनकपुरका प्रमुख आनन्दकुमार गुप्ताले उद्योगी र व्यवसायीले आफ्नो आम्दानीबाट विनाअवरोध कर तिरेर असल नागरिकको पहिचान सावित गर्नुपर्नै बताउनुभयो । मधेस प्रदेशका प्रमुख लेखा नियन्त्रक वीरेन्द्रकुमार मिश्रले सरकार  र करदाता आपसी मित्रवत् व्यवहारबाट कर सङ्कलन गर्नुपर्ने बताउनुभयो ।

जनकपुर भन्सार कार्यालयका प्रमुख मानबहादुर पौडेलले राज्यको कर छल्नु गलत काम भएकाले समयमा आफ्नो हिसाबकिताब गरेर कर दाखिला गर्नुपर्ने आग्रह गर्नुभयो । जनकपुरधाम उद्योग वाणिज्य सङ्घका कोषाअध्यक्ष परमेश्वर साहले प्रत्येक वर्षको करका दरमा  गर्ने बढोत्तरीले व्यवसायी तथा उद्योगी समस्यामा परेको गुनासो गर्नुभयो । 

नेपाल पत्रकार महासङ्घ धनुषाका कार्यवाहक अध्यक्ष अवधेश कामतले भन्सार राजस्वमा वृद्धि गर्न तथा व्यावसायिक वातावरण बनाउन आग्रह गर्नुभयो ।