नेपालगञ्ज, मङ्सिर ५ गते । बाँकेको नेपालगञ्जमा निर्माण हुन लागेको सिधनियाघाटको वैकुण्ठधाम निर्माण योजनालाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्ने भएको छ । आज यहाँ आयोजित वैकुण्ठधाम आध्यात्मिक महोत्सव श्रीमद् भागवत ज्ञानकथा यज्ञको समीक्षा बैठकमा मुख्यमन्त्री चेतनारायण आर्चायले सो योजनालाई प्रदेश सरकारले बहुवर्षीय आयोजनामा समावेश गरेर काम अघि बढाउने बताउनुभयो ।
“यो निकै राम्रो सामाजिक कार्य हो । कुनै दलभन्दा पनि आमनागरिकको सहभागितामा अघि बढेकाले यस कामलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्नेछ”, उहाँले भन्नुभयो,“जग्गा प्राप्ति र विस्तृत परयिोजना प्रतिवेदन (डिपिआर) निर्माण गरेर आयोजना कार्यान्वयनलाई अघि बढाउन जरूरी छ ।” मुख्यमन्त्री आर्चायले महायज्ञबाट सङ्कलन भएको रकमलगायत सबै स्रोतहरूको सही परिचालन गरेर आयोजना कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो ।
डुडुवा गाउँपालिका–५ स्थित राप्तीनदी तटमा वैकुण्ठधाम निर्माण गर्न थालिएको छ । विद्युतीय शवदाहगृहसहित किरियापुत्री घर, मन्दिर, सभाहल, ध्यान केन्द्र, पितृको मृत्युकर्म, सोह्र श्राद्धकर्म एवम् पितृ मोक्षका अन्य कर्मकाण्ड सम्पन्न गर्न मिल्ने गरी आध्यात्मिक उपवन ‘वैकुण्ठधाम’ आयोजना अघि बढाइएको जनाइएको छ ।
वैकुण्ठधाम निर्माणका लागि नागरिक सहभागिता जुटाउन कात्तिक २२ गतेदेखि महायज्ञसमेत सञ्चालन गरिएको थियो । त्यसबाट करिब रु तीन करोड सङ्कलन भएको समितिका अध्यक्ष डा सुुरेशकुमार कनौडियाले जानकारी दिनुभयो ।