काठमाडौं । मङ्सिर महिनाका लागि बैंकहरुको ब्याजदर घटेको छ । नयाँ ब्याजदर अनुसार १६ वटा बैंकको ब्याजदर घटेको हो । कात्तिक महिनामा बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेप तर्फ औसत ६ दशमलव १८ प्रतिशत ब्याज प्रदान गरेका थिए । तर, मङ्सिर महिनाका लागि भने ० दशमल २१७४ प्रतिशत बिन्दु घटाएका छन् । मङ्सिर महिनामा बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा औसत ५ दशमलव ९७०३ प्रतिशत ब्याज प्रदान गर्ने भएका हुन् ।


नयाँ ब्याजदर तालिका अनुसार साधारण बचत खातातर्फ तीनवटा बैंकले ब्याजदर घटाएका छन् । त्यस्तै, एकवर्षे व्यक्तिगत मुद्दती खाता अन्तर्गत ११ वटा बैंकको ब्याजदर घट्दा र एकवर्षे संस्थागत मुद्दती खातामा १२ वटा बैंकले ब्याज घटाएका छन् । संस्थागत मुद्दती खाताको ब्याजदर त ३ प्रतिशत भन्दा कम समेत कायम गरिएको छ ।

आज शुक्रबार ११ वटा बैंकहरुले ब्याजदर घटाएका छन् भने ९ वटा बैंकले ब्याजद स्थिर राखेका छन्, अर्थात् कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । जसमा नेपाल बैंक, सिद्धार्थ, नेपाल एसबिआई, एभरेष्ट, प्रभू, सानिमा, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा र राष्ट्रिय वाणिज्य बैंकले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

नेपाल बैंकले आगामी मंसिरका लागि व्यक्तिगत तर्फ ५ दशमलव ९५ प्रतिशत र संस्थागत तर्फ ४ दशमलव ९५ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ । यस्तै, सिद्धार्थ, नेपाल एसबिआई राष्ट्रिय वाणिज्य र एभरेष्टले व्यक्तिगत र संस्थागत तर्फ क्रमशः ६ प्रतिशत ५ प्रतिशतका दरमा ब्याज प्रदान गर्नेछन् ।

प्रभू बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ६ दशमलव १ प्रतिशत र संस्थागत तर्फ ५ दशमलव १ प्रतिशत, सानिमाले व्यक्तिगत तर्फ ६ दशमलव १५ प्रतिशत र संस्थागत तर्फ ४ दशमलव ३ प्रतिशत, हिमालयनले व्यक्तिगत तर्फ ६ दशमलव २५ प्रतिशत संस्थागत तर्फ ५ दशमलव २५ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगतमा ६ दशमलव ५ प्रतिशत र संस्थागतमा ५ दशमलव २५ प्रतिशत ब्याज दिनेछ ।

यसैगरी ब्याजदर घटाइएका बैंकहरु माछापुच्छ्े, एनएमबि, लक्ष्मी सनराइज, नबिल, ग्लोबल आइएमई, प्राइम, स्ट्याण्डर्ड चार्टर्ड, कृषि विकास, एनआइसी एशिया, सिटिजन्स र कुमारी बैंक रहेका छन् ।
व्यक्तिगत निक्षेप तर्फ नबिल, ग्लोबल र प्राइमले समान ५ दशमलव ७५ प्रतिशत ब्याज दिने भएका छन् भने यी बैंकहरुले संस्थागत तर्फ क्रमशः ४ दशमलव ७५, ४ दशमलव ५ प्रतिशत र ४ प्रतिशत दिएका छन् ।
यसैगरी कृषि विकास बैंकले व्यक्तिगततर्फ ५ दशमलव ५३६३ प्रतिशत र संस्थागततर्फ ३ दशमलव २५ प्रतिशत, एनआइसी एशियाले व्यक्तिगत तर्फ ६ दशमलव ७९ प्रतितश र संस्थागतमा ५ दशमलव ७९, सिटिजन्सले व्यक्तिगतमा ५ दशमलव ६५ र संस्थागतमा ४ प्रतिशत र कुमारी बैंकले व्यक्तिगत तर्फ ५ दशमलव ९१ प्रतिशत र संस्थागतमा ४ दशमलव ९१ प्रतिशत ब्याज प्रदान गर्ने भएका हुन् ।

यसैगरी माछापुच्छ्रेले व्यक्तिगत मुद्दतितर्फ ६ प्रतिशत र संस्थागत तर्फ ४ दशमलव २५ प्रतिशत, एनएमबिले व्यक्तिगत तर्फ ५ दशमलव ५७ प्रतिशत, र संस्थागतमा ४ दशमलव ५७ प्रतिशत, लक्ष्मी सनराइजले व्यक्तिगत ५ दशमलव ५ प्रतिशत र संस्थागत तर्फ ४ दशमलव ५ प्रतिशत, स्ट्याण्डर्डले व्यक्तिगतमा ६ दशमलव २५ प्रतिशत र संस्थागतमा ३ दशमलव ५ प्रतिशत ब्याज दिने भएका छन् ।