महोत्तरी, कात्तिक २९ गते । उपनिर्वाचनको चहलपहलले महोत्तरीको राजनीतिक माहोल तताउँदै छ । जिल्लाको रामगोपालपुर नगरपालिका–२ को वडाअध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनले यहाँको राजनीतिक गतिविधि निकै बढेसँगै माहोल तात्दै गएको हो ।

जिल्लामा एउटा वडाध्यक्ष पदका लागि मात्र मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ । विभिन्न राजनीतिक दलले त्यही एउटा पदको उपनिर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सबै शक्ति खन्याइरहेका छन् । उम्मेदवारको विधिवत् मनोनयन दर्ता आउने आइतबार हुने भए पनि दलहरुका गतिविधि भने रामगोपालपुर–२ मा एक साता पहिलेदेखि नै सघन देखिँदो छ । 

सो वडामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)ले दुई÷दुई पटक चुनावी प्रचार ¥याली सम्पन्न गरिसकेका छन् । दुवै दलका कार्यक्रममा उच्च तहका नेताहरुको सहभागिताले उपनिर्वाचनको माहोल झनै तातेको छ । माओवादी केन्द्रको कार्यक्रममा सो दलका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, मधेश प्रदेश इञ्चार्ज लीलामणि पोखरेलसहितका नेता सहभागी हुनुभएको छ । त्यसैगरी नेकपा (एमाले) ले पोल्यूटब्यूरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश कमिटीका पदाधिकारी र जिल्लाका पदाधिकारीसहितको सहभागितामा पहिलोचरणको घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

सो वडामा यसअघि माओवादी केन्द्रका मुकेशकुमार यादव निर्वाचित हुनुभएको थियो । यादवको दुई महिना पहिले निधन भएपछि अहिले यहाँ उपनिर्वाचन हुन लागेको हो । यस उपनिर्वाचनमा माओवादी केन्द्रले स्व यादवकी पत्नी आइती यादवलाई उम्मेदवार घोषणा गरेको छ । 
यसैगरी नेकपा (एमाले)ले सकिवुल खानलाई उम्मेदवार घोषणा गरेको छ । यसअघि २०७९ को स्थानीय तह निर्वाचनमा जसपाबाट उम्मेदवार रहनुभएका खान यस पटक एमालेबाट उम्मेदवार घोषणा हुनुभएको हो ।

यसैगरी नेपाली कांग्रेसले मोहम्मद जनिफ खाँ र जसपाले नजामुद्दिन खानलाई उम्मेदवार बनाउने घोषणा गरेका छन् । जनिफ यसअघिको निर्वाचनमा पनि नेकाकै उम्मेदवार हुनुहुन्थ्यो र निकटतम प्रतिस्पर्धी बन्नुभएको थियो । जसपाका पहिलेका उम्मेदवार सकिवुल भने एमाले प्रवेश गरेपछि सो दलले नजामुद्दिनलाई उम्मेदवार घोषणा गरेको छ ।

यसअघिको निर्वाचनमा विजयी हुने मुकेशकुमार यादवले ४३३, निकटतम प्रतिस्पर्धी नेकाका जनिफ खाँले ३७५, जसपाका सकिवुल खानले ३४२ र एमालेका कादिर हुसैनले २८७ मत प्राप्त गर्नुभएको थियो । सो वडामा दुई हजार २०० मतदाता छन् ।

वडामा यसअघि निर्वाचन जितेको माओवादी केन्द्र आफ्नो ठाउँ गुम्न नदिन भरपुर प्रयत्नमा देखिन्छ । यसैगरी सो वडाकै मतदाता रहनुभएका एमालेका केन्द्रीय सदस्य तथा प्रदेशसभामा एमाले संसदीय दलका नेता र मधेश सरकारमा दोस्रो वरियताका भौतिक पूर्वाधारमन्त्री सरोज यादवले उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाउनुभएको छ । 

यसैगरी नेका र जसपाले आफ्नो जनाधार बढेको बताउँदै चुनाव जित्ने दाबी गरिरहेका छन् । जिल्लाको एक वडामा मात्र उपनिर्वाचन हुन लागेको हुँदा सबै दलका नेता अहिले चुनावी तयारीमा रामगोपालपुर–२ का घरघर पुग्दैछन् ।

यो उपनिर्वाचनले राजनीतिक माहोल निकै तताएको सो वडाकै बासिन्दा विगतमा जिविसका उपसभापति रहिसक्नुभएका गणेशप्रसाद यादव बताउनुहुन्छ ।

उपनिर्वाचन शान्तिपूर्वक रुपमा सम्पन्न गर्न जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले सम्बद्ध सबै पक्षसँग अपिल गरेको छ । उपनिर्वाचनका लागि जनशक्ति व्यवस्थापनदेखि अन्य सबै तयारी ठिकठिक समयमा पूरा गरिने मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले बताउनुभयो ।