काठमाडौँ, कात्तिक २९ गते। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी महासङ्घले बाढीपहिरो पीडितका लागि रु सात लाख ७७ हजार प्रदान गरेको छ ।
महासङ्घका अध्यक्ष मणिरत्न श्रेष्ठले आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।
त्यस अवसरमा बाढीपीडितलाई सहयोग गरेकामा सङ्गठनका पदाधिकारीप्रति कृतज्ञता ज्ञापनगर्दै अध्यक्ष दाहालले जनताका समस्या समाधानका निम्ति आफ्नो पार्टीले सधैँ अग्रमोर्चामा रहेर कामगरेको बताउनुभयो ।
पुनःस्थापनाका कामले अझै गति नलिएकामा चिन्ता व्यक्तगर्दै उहाँले दुई वर्षअघिका भूकम्पपीडित तथा हालैको बाढीपहिरोबाट पीडित भएकालाई समाजका सबैवर्गको सहयोग आवश्यक भएको बताउनुभयो ।
सहायता रकम प्रदानगर्न महासचिव प्रेम खनाल, नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठनका अध्यक्ष अम्बादत्त भट्टलगायत महासङ्घ र सङ्गठनका पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।