म्याग्दी, कात्तिक २९ गते । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ । काठमाडौँको ग्राण्डी अस्पतालमा डेङ्गीको उपचारका क्रममा बुधबार राति उहाँको निधन भएको नेपाली काङ्ग्रेस म्याग्दीका पूर्वसभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाले राससलाई बताउनुभयो ।
उहाँ नेपाली काङ्ग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभामा चुनिनुभएको थियो । उहाँको शव अस्पतालमै राखिएको तथा उहाँका छोरा अमेरिकाबाट आएपछि अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।