नेपालगञ्ज, कात्तिक २८ गते। बाँकेमा कोदोको उत्पादन परीक्षण सफल देखिएको छ । कोहलपुरमा रहेको सामुदायिक जिनबैङ्क सञ्जालले बैजनाथ गाउँपालिका–१ चिसापानीस्थित गाभर भ्यालीमा गरेको कोदोको उत्पादन परीक्षण सफल भएको हो ।
गत साउन महिनामा रोपिएको कोदो अहिले चिसापानीस्थित गाभर भ्यालीमा लहलह झुलेको अवस्थामा देख्न पाइन्छ । पहाड र हिमालमा मात्रै उत्पादनहुने कोदो तराईको बाँकेमा पनि फलेको देख्दा स्थानीयलाई आश्चार्य लाग्न थालेको छ ।
“कोदो तराईका जिल्लामा उत्पादनगर्ने योजनाका साथ परीक्षण गर्नका लागि हामीले साउनमा रोप्यौँ, अहिले कोदोको बाला लहलह लागेर काटने बेला भएको छ र स्थानीयले पनि अनौठो मानेका छन्”, सामुदायिक जिनबैङ्क सञ्जालका संयोजक पुरमल बस्नेतले भन्नुभयो । उहाँले नौ प्रजातिका कोदोको बीउ रोपेकामा एक–दुई प्रजातिबाहेक अन्यसबै राम्रोसँग फलेको बताउनुभयो ।
स्थानीयको डेढकट्ठा बढी जग्गा भाडामा लिएर कोदोका विभिन्न स्थानीय प्रजातिको बीउ परीक्षणका लागि रोपिएको जानकारी दिँदै बस्नेतले उत्पादन परीक्षण सफल भएकाले उत्साहित भएको बताउनुभयो । उहाँका अनुसार पाँच प्रजाति जिनबैङ्कले परीक्षणमार्फत उत्कृष्ट देखिएका, दुई नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले विकास गरेका र अन्य दुई प्रजाति किसानले उत्पादन गरेका जात छन् । “नार्कका प्राविधिकसँगको समन्वयमा हामीले सो परीक्षण गरेका थियौँ, मङ्सिर पहिलो साता उहाँहरु फिल्डमा आउने कुरा भएको छ, सो समयमा यसलाई टिप्ने योजना बनाएका छौँ”, बस्नेतले भन्नुभयो ।
उहाँले नार्कका प्राविधिकको सल्लाहमा तराईका अन्य स्थानमा रोप्न मिल्नेगरी यसको बीउ सिफारिसगर्ने योजना बनाएको समेत जानकारी दिनुभयो । नार्कका प्राविधिकको सिफारिसअनुसार तराईका जिल्लामा किसानलाई कोदो रोप्न प्रेरित गरिने बस्नेतको भनाइ छ । उहाँका अनुसार परम्पारगत बालीको संरक्षणका लागि सुक्खा ठाउँमा समेत कोदो जस्तो रैथानेबाली लगाउन मिल्नेगरी यसको उत्पादन परीक्षण गरिएको हो ।
विसं २०७८ मा चिसापानीको गाभर भ्यालीमा पहिलो सामुदायिक जिनबैङ्क स्थापना गरेको जिन बैङ्कका सचिवसमेत रहनुभएका घरबास सञ्चालक सङ्घका महासचिव कृष्ण चौधरीले बताउनुभयो । गाभर भ्यालीमा कोदो उत्पादनको प्रशस्त सम्भावना रहेको देखिएकाले यहीँबाट परीक्षण उत्पादन सुरुगरिएको र सफल भएको उहाँको भनाइ छ ।
जिनबैङ्कले तराइमा कोदोको मात्र उत्पादन नगरेर रैथाने अन्नबाली, वनस्पति, पशुपन्छी, मौरी, सूक्ष्म जीवाणु र जलीयकुण्ड क्षेत्रमा कामगर्दै आएको छ ।