फाइल तस्वीर

काठमाडौँ, कात्तिक २७ गते । हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका पहाडी भूभागको मौसम आंशिक बदली छ रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने अनुमान छ भने देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

यस्तै, आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षासँगै उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षासँगै देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तैगरी आगामी २४ घण्टाका लागि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक र आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।