प्राकृतिक सौन्दर्यताको प्रतिक चाङ्गाधुरी ।
म्याग्दी, कात्तिक २७ गते ।
मङ्गला गाउँपालिका–५ स्थित चाङ्गाधुरी पर्यटक र पूर्वाधारको पर्खाइमा छ । समुन्द्री सतहबाट दुई हजार ५० मिटर उचाईमा रहेको चाङ्गा प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको थियो ।

पहाडको शिरमा भिरालो पाखामा रहेको चाङ्गाको पृष्ठभूमिमा धवलागिरि, अन्नपूर्ण, गुर्जा, चुरेन, मानापाथी, नीलगिरि र माछापुच्छ्रे« हिमालका साथै सूर्योदयको दृष्यावलोकन गर्न सकिन्छ । दरबाङ, बाबियाचौर, तातोपानी बजार, नागबेली परेर बगेको म्याग्दी नदीको किनारबाट पहाड र हिमालको दृष्य एकैठाउँबाट देख्न पाइन्छ ।

चाङ्गाबाट देखिने मनमोहक हिमश्रृङ्खला, शान्त र एकान्त वातावरणले तन र मन दुवै चाङ्गा हुने त्यहाँ घुम्न गएका बेनीका दिप्सन खड्काले बताउनुभयो । “चिसो हावापानी पृष्ठभूमिमा देखिने हिमालको लामो लर्कनले मोहित बनायो”, उहाँले भन्नुभयो, “यात्राको थकान मेटियो । दुःख बिर्सायो । समय बितेको पत्तै भएन ।” जडीबुटी, वन पैदावार, वन्यजन्तु र पक्षीको अवलोकन गर्न पाउनु चाङ्गाको थप विशेषता रहेको उहाँले उल्लेख गर्नुभयो ।  

चाङ्गाको बराह मन्दिरको धार्मिक महत्व छ । भेडा, बाख्रा र गाईभैँसीका गोठ, स्थानीयवासीको जीवनशैली, संस्कृति र रहनसहन पनि पर्यटक लोभ्याउने माध्यम हुन् । खाजाखाना खाने रेस्टुरेन्ट र बास बस्न लज, सार्वजनिक शौचालय, सूचना बोर्ड, खानेपानी आदिको व्यवस्थापन गर्न सकेमा पर्यटकलाई सहज हुने बेनीबाट चाङ्गा घुम्न गएका किरन कार्कीले बताउनुभयो । 

पूर्वाधारको व्यवस्थासँगै प्राकृतिक सौन्दर्यताका विषयमा प्रचारप्रसार आवश्यक रहेको उहाँले बताउनुभयो । चाङ्गा घुम्न जाने पर्यटक फेदीमा रहेको सिर्कुममा बास बसेर पैदलयात्रा र सडकमा सवारीसाधनमार्फत चाङ्गामा पुग्ने गर्दछन् । 

पाहुनालाई आलु, मुला, भाँगो, टुसा, च्याउ, सिमीको दाल, ढिँडो, गौरीया र गुडुरा चामलको भात, स्थानीय कुखुराको मासुका परिकार चखाउने गरिएको सिर्कुमका बासिन्दा दीपेन्द्र जिसीले बताउनुभयो । 

मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरबाट पाखु, सिर्कुम हुँदै एक घण्टा ३० मिनेट मोटरसाइकल र जिपमा यात्रा गरेपछि चाङ्गा पुग्न सकिन्छ । बाबियाचौरबाट शेराफाट–पीपलबोट–पाखु–सिर्कुम हुँदै चार घण्टामा चाङ्गा पुग्ने पदमार्ग पनि छ । 

मङ्गला गाउँपालिका–५ का वडाध्यक्ष भूपेन्द्र खत्रीले चाङ्गा जोड्ने सडक स्तरोन्नति र पदमार्गलाई व्यवस्थित गरेर वनभोज, हाइकिङ र क्याम्पिङ गर्ने पर्यटक भित्र्याउन पहल गरिएको बताउनुभयो । 

चाङ्गाबाट बागलुङको ताराखोला गाउँपालिकाको सिमानामा रहेको तिनचुले र मङ्गलाको वडा नं ४ मा रहेको गम्फाधुरीको एकीकृत पर्यटन विकासको योजनाअनुसार काम भइरहेको उहाँले बताउनुभयो । रासस