विराटनगर, कात्तिक २६ गते । कोशी प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारी पक्राउ परेको विषयमा प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरेको छ । कोशी प्रदेशसभाले प्रदेशसभा नियमावलीको नियम १९० को उपनियम २ अनुसार प्रदेशसभा सदस्य अधिकारी पक्राउ परेको विषयमा सूचना टाँस गरेर जानकारी दिलाएको हो ।
कोशी प्रदेशसभाका कार्यवाहक सचिव गौतमराज अमात्यले जारी गरेको सूचनामा लिखत तथा मानव बेचबिखन सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट प्रदेशसभा सदस्य अधिकारीविरुद्ध पक्राउ अनुमति जारी भएको उल्लेख छ ।

प्रदेशसभाले सूचना टाँस गरेर जानकारी दिएसँगै अधिकारी कोशी प्रदेश सांसदबाट निलम्बित हुनुका साथै एमालेले पार्टीको सबै जिम्मेवारीसहित साधारण सदस्यबाट पनि निलम्बन गरिसकेको छ । अधिकारीलाई पक्राउ थरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा उपस्थित गराइएको जानकारी प्राप्त भएको पनि सूचनामा उल्लेख छ ।