काठमाडौँ, कात्तिक २६ गते। काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रका नदी सफाइ अभियानलाई तीव्रता दिएको छ । महानगरको मध्यक्षेत्र भएर बग्ने इच्छुमती (टुकुचा) मा आज महानगर अन्तर्गतको वातावरण विभागले सफाइ गरेको छ । इच्छुमतीको भद्रकाली, सिंहदरबार क्षेत्रमा सफाइ गरिएको विभागका उपनिर्देशक सानुमाया महर्जनले जानकारी दिनुभयो । इच्छुमतीभित्र जम्मा भएको फोहर निकालेर महानगरका सफाइ कर्मचारीले किनारमा थुपारेका छन् ।
विभागले यसअघि असारमा पनि यसरी नै इच्छुमतीलगायत नदी सफाइ गरेको थियो । छ महिना नबित्दै फेरि नदीमा जम्मा भएको बोत्तल, प्लाष्टिकलगायत नकुहिने फोहर सफाइ गरिएको हो । महानगरले सफाइसँगै फोहरगर्नेलाई समातेर कानुनी कारबाहीको दायरामा ल्याउने तयारीपनि गरेको जनाइएको छ ।
महानगरले काठमाडौँ उपत्यकामा भएर बग्ने वाग्मती, विष्णुमती, रुद्रमती, बल्खुलगायत नदीमा पनि यसरी सफाइगर्दै आएको छ । नागरिक स्तरबाट सुरुभएको वाग्मती सफाइ महाअभियान छ सयौँ हप्तामा प्रवेश गरेपनि उपत्यकाका अन्य नदीभने सफाहुन सकेका छैनन् ।