काठमाडौँ, कात्तिक २४ गते। संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका समर्थकले केन्द्रीय समिति बैठक चलिरहँदा पार्टी कार्यालय वनस्थलीमा धर्ना दिएका छन्। पार्टी सभापति रवि लामिछाने पक्राउ गरेको लामो समय बितिसक्दा पनि पार्टीले कुनै ठोस निर्णय लिन नसकेको भन्दै रास्वपाका समर्थकहरूले घण्टीघरमै पुगेर बाँकी नेताहरूको विरोधसहित धर्ना बसेका हुन्।
पार्टी कार्यालयमा प्लेकार्डसहित पुगेका समर्थक तथा कार्यकर्ताले रविलाई न्याय, सहकारी पीडितको रकम फिर्ता र सबै भ्रष्टहरूलाई जेल नकोचेसम्म आन्दोलन जारी राख्ने बताएका छन्। रविको नाममा सांसद र नेता भएकाहरू रविलाई संकट पर्दा पछि हट्नु धोखा भएको भन्दै समर्थकहरूले बाँकी नेताहरूको विरोधमा उत्रिएको धर्नामा सहभागी समर्थकहरूले बताएका छन्।
‘कि सङ्कटमा पार्टी सम्हाल कि ठाउँ छाड, आँटिला नेतालाई सलाम छ, डराउनेलाई आँट दिन्छौं, आफ्नै नेताहरूलाई नो नट अगेन भन्ने दिन नआओस्’ भन्ने नारासहितको प्लेकार्ड बोकेका थिए। उनीहरूले दोस्रो तहका नेताप्रति असन्तुष्टिको पोखे।
रवि पक्राउ परेपछि उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेको टकरावले अहिलेसम्म कार्यवाहक अध्यक्षसम्मेत तोक्न सकेको छैन।
पार्टीको आगामी रणनीतिबारे छलफल गर्न केन्द्रीय समितिको बैठक बस्नुपूर्व नै घण्टीघरमा प्लेकार्डसहित पुगेका समर्थकले केन्द्रीय नेताहरूसँग कुरा गर्दै सभापति दोषी भए ढाकाकुमार श्रेष्ठलाई जस्तै कारबाही गर्नुपर्यो तर, सरकारले प्रतिशोध साँधेको भए प्रतिरोधमा कडा रूपमा उत्रिनुपर्ने भन्दै दबाब दिएका छन्। सभापति लामिछाने पक्राउको विषयमा केन्द्रीय समितिले ठोस निर्णय लिन नसकेको उनीहरूको आक्रोश छ।