पर्सा, कात्तिक २३ गते । खानेपानीमन्त्री प्रदीप यादवले कुस्ती मधेसको संस्कृति, परम्परा र इतिहाससँग जोडिएको खेल भएको बताउनुभएको छ । वीरगञ्जमा आज आयोजित विराट कुस्ती प्रतियोगिताको उद्घाटन गर्नुहुँदै मन्त्री यादवले कुस्ती मधेसको संस्कृति, परम्परा र इतिहाससँग जोडिएको र साहस, अनुशासन तथा शक्ति प्रदर्शनको पराकाष्ठा प्रस्तुत गर्ने अद्भूत मञ्च भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कुस्ती खेल केवल मनोरञ्जनको माध्यम मात्र नभएर, हाम्रो पहिचान र अस्मितासँग जोडिएको छ ।” पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य रहनुभएका मन्त्री यादवले कुस्तीको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताउनुभयो ।
“कुस्ती हाम्रो समाजको पुरानो परम्परा हो, जसलाई जगेर्ना गरेर आधुनिक पुस्तामा हस्तान्तरण गर्न आवश्यक छ । यस्ता प्रतियोगिताले युवा पुस्तामा कुस्ती खेलप्रतिको आकर्षण बढाउन, उनीहरूको शारीरिक तन्दुरुस्ती सुधार्न र खेलकुदमा भविष्य खोज्न सहयोग पुर्याउँछ”, उहाँले भन्नुभयो ।
यस्ता प्रतियोगिताले समुदायमा खेलकुदको महत्त्वलाई पुनःस्थापित गर्नुका साथै समाजलाई एकताबद्ध गर्न सहयोग पुर्याउने मन्त्री यदवले बताउनुभयो । “स्थानीय प्रतिभालाई अवसर र प्रोत्साहन दिनु आजको आवश्यकता हो । यस्तो प्रतियोगिताले युवालाई गलत बाटोमा नलागी खेलकुदमा लाग्न प्रेरित गर्छ, जुन स्वस्थ समाज निर्माणको महत्त्वपूर्ण आधार हो”, उहाँले भन्नुभयो ।
जनता समाजवादी पार्टी ९जसपा० का उपमहासचिव समेत रहनुभएका मन्त्री यादवले विराट कुस्तीजस्ता प्रतियोगिता मधेसको सांस्कृतिक धरोहरको पुनःरुत्थानमा महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले हाम्रो संस्कृति र परम्परालाई जीवित राख्न कुस्तीजस्तो खेललाई संरक्षण गर्नुपर्छ । यसका लागि सरकारको साथसाथै स्थानीय तह र समुदायको सक्रिय सहभागिता अनिवार्य छ ।”
वीरगञ्ज महानगरपालिका र इनरवा महावीर संरक्षक समाजको सहकार्यमा वीरगञ्ज महानगरपालिका–१६ नगवास्थित महावीर मन्दिरमा आयोजित प्रतियोगितामा पर्सा, बारा, रौतहटलगायतका भारतका विभिन्न स्थानबाट आएका खेलाडीले सहभागिता जनाउनेछन् ।
कार्यक्रममा सहभागी रहनुभएका वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले कुस्ती प्रतियोगिताजस्तो खेल आयोजनाले महानगरको खेलकुद क्षेत्रमा ठूलो योगदान पुर्याएको बताउनुभयो ।
“स्थानीय खेलकुदको संरक्षण र विकासका लागि महानगरपालिकाले सधैँ तत्परता देखाउनेछ”, उहाँले भन्नुभयो । प्रमुख सिंहले प्रतियोगितालाई सफल बनाउन स्थानीय सङ्घसंस्था र समाजसेवीको साथका लागि आभार पनि व्यक्त गर्नुभयो ।