काठमाडौँ, कात्तिक २२ गते । आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतलाई पराजित गरेको छ । नेपालले कुवेतलाई १०८ रनले पराजित गरेको हो ।
युएईमा जारी प्रतियोगीतामा नेपालको योसँगै लगातार दोस्रो जित निकालेको हो । यसअघि पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । लगातार दुई जितबाट नेपालले ४ अङ्क जोडेको छ ।
दुबईस्थित दि सेभेन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो । १३१ रनको लक्ष्य पछ्याएको कुवेत नेपाली बलिङ सामु १३ ओभरमा सबै विकेट गुमाएर २२ रनमै अलआउट भयो । कुवेतका लागि कप्तान जिफा जिलानीले सर्वाधिक १२ रन बनाईन् । उनी बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कुवेतका ६ खेलाडी खातासमेत नखोली आउट भए ।
कुवेतलाई अलआउट गर्न नेपालका लागि रचनाकुमारी चौधरी र सीमा केसीले २–२ विकेट लिए । रचनाले २ ओभरमा १ मेडन राख्दै १ रन मात्र खर्चेर २ विकेट लिइन् भने सीमाले दुई ओभर बलिङ गर्दा २ ओभर नै मेडन राखिन् । यस्तै, कप्तान पूजा महतो, कृष्मा गुरुङ र मनिषाकुमारी उपाध्यायले १–१ विकेट लिँदा मनिषाले २ ओभरमा १ मेडन राख्दै १ रन मात्र खर्चिइन् ।
त्यसअघि नेपालका लागि पुजा महतोले कप्तानी इनिङ्स इनिङ्स खेल्दै ३४ रन बनाइन् । लगातार दोस्रो खेलमा नेपालका लागि उच्च रन बनाउने क्रममा महतोले ३८ बल खेल्दा ४ चौका मद्दतमा ३४ रन बनाइन् । यस्तै साना प्रविनले १८ बलमा ५ चौका प्रहार गर्दै २५ रन जोडिन् । अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।
कुवेतकी आयशा इकवाल पेवेकरले २ तथा जिफा जिलानी र अमिशा राम ओलाचेरीले समान १ विकेट लिए । नेपालले आफ्नो तेस्रो खेल शनिबार घरेलु टोली युएइसँग खेल्नेछ ।