नवलपरासी, कात्तिक २१ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोटमा आज चित्रकार भीमप्रसाद शर्माको १२औँ एकल चित्रकला प्रदर्शनी ‘कुण्डलिनी’को उद्घाटन गर्नुभएको छ ।
चित्रकार शर्माले प्रदर्शनीमा राख्नुभएको चित्रकलाले जीवन दर्शन प्रस्तुत गर्न खोजेको मन्त्री पाण्डेले बताउनुभयो । मन्त्री पाण्डेले गैँडाकोटको यस चित्रकलालाई प्रदेश हुँदै केन्द्रसम्म प्रदर्शनी गर्न सहयोग गर्ने बताउनुभयो ।
“हाम्रो सभ्यतासँग जोडेर प्रदर्शनीमा ल्याइएको कुण्डलिनी चित्रकलाले हाम्रो सनातन परम्परा र वैदिक कालसँग जोडिएको छ”, उहाँले भन्नुभयो, “यसलाई गैँडाकोटमा मात्रै सीमित नराखी राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा प्रदर्शनीको बाटो दिनुपर्छ, त्यसका लागि सहयोग गर्न म तत्पर छु ।”
शर्माको एकल चित्रकला प्रदर्शनीमा जीवन दर्शनसँग सम्बन्धित विभिन्न ३७ वटा चित्र राखिएका छन् । कार्यक्रममा मन्तव्य राख्दै संविधानसभा सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य महेन्द्रध्वज जिसीले नवलपुर क्षेत्र कला र संस्कृतिको खानी भएको भन्दै यसको संरक्षणका लागि केन्द्रबाटै पहल गर्नुपर्ने बताउनुभयो ।
चित्रकला प्रदर्शनीबारे बोल्दै नेपाल संस्कृत विश्वविद्यालय दाङका प्रा डा गुरुप्रसाद सुवेदीले चित्रहरु पाशुपात दर्शनमा आधारित रहेको बताउनुभयो ।
गैँडाकोट–५ स्थित गैँडाकोट नगरप्रज्ञा प्रतिष्ठानको जानकी ग्यालरीमा सुरु भएको प्रदर्शनी आगामी मङ्सिर १२ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा राखिएका चित्रहरु कोर्न तीन वर्ष लागेको कलाकार शर्माले बताउनुभयो ।