दार्चुला, कात्तिक २१ गते । प्रविधिको विकाससँगै दार्चुलाका पहाडी ग्रामीण क्षेत्रमा अहिले परम्परागत रुपमा गोरूको प्रयोग गरी खेत जोत्ने चलन विस्तारै हराउन थालेको छ । तराईमा मात्र प्रयोग हुँदै आएको ट्याक्टर पछिल्ला केहीवर्षयता पहाडी ग्रामीण बस्तीमा पनि पुग्न थालेसँगै यसको प्रयोग बढ्न थालेको हो ।

दुई वर्ष अघिसम्म अपिहिमाल गाउँपालिका–४ का प्रकाश कार्कीले गोरूको सहायताले महिनौँ लगाएर खेतबारी जोत्नुहुन्थ्यो । यहाँका अधिकांशको घरमा कम्तिमा एक हलगोरू, हलो र जुवा हुन्थ्यो । अहिले प्रकाशको घरमा गोरू, हलो र जुवा केही छैनन् । खेतबारी खन्न ट्याक्टरको प्रयोग बढेसँगै प्रकाशलाई खेतीकिसानी गर्न सजिलो भएको छ । 

महिनौँ लगाएर खन्नुपर्ने खेतबारी ट्याक्टरले दुई दिनमा खन्न थालेपछि काममा सहज हुनुका साथै समयको बचत भएको कार्कीले बताउनुभयो । गाउँमा अहिले गहुँ छर्ने बेला भएको भन्दै आफ्नो खेतको काम सकेर अरुकोमा पनि काम  भ्याइने उहाँले उल्लेख गर्नुभयो । 

ट्याक्टरको प्रयोग बढेसँगै खेतीबाली लगाउन, माटो धुल्याउन निकै सजिलो भएको अपिहिमाल–४ का किसान बताउँछन् । यसअघि भनेको समयमा गोरू नपाउने, कामदारको अभावलगायत समस्या भोगिरहेका यहाँका किसानलाई ट्याक्टरको प्रयोग बढ्न थालेपछि काममा सहज भएको छ ।

ट्याक्टरको प्रयोग गरी काम गर्दा समयको बचत हुनुका साथै जमिन बाँझो राख्नुपर्ने बाध्यता अन्त्य भएको विनोद अट्यालले बताउनुभयो । खेत जोत्न ट्याक्टरको प्रयोग गर्न थालेपछि गोरू र खेताला खोज्नुपर्ने झन्झट हटेको उहाँको भनाइ छ । कम जनशक्ति र समयमा पनि धेरै काम गर्न सकिने भएकाले ट्याक्टरको प्रयोग उपलब्धिमूलक बनेको उहाँले बताउनुभयो ।

काममा सजिलो हुने भएपछि अहिले गाउँमा सामूहिक रुपमा ट्याक्टर खरिद गरेर भित्र्याउने चलन बढेको छ । सडक नपुगेको अपिहिमालका अधिकांश बस्तीसम्म अहिले ट्याक्टरको पहुँच पुगेको अपिहिमाल–४ का कल्यानसिंह बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँमा डिजेल रु दुई सय ३० प्रतिलिटरमा पुगेको भन्दै महँगो भए पनि किसानले ट्याक्टरको प्रयोग गरेर खेतीपाती गर्न थालेका छन् ।

“पाखा र भिरालो बारीमा मकै, गहुँ, जौ, धानलगायत अन्न छर्न अहिले खेत जोत्ने काम गोरूले नगरी मिनिटिलर ९हाते ट्याक्टर० बाट हुन थालेको छ । गाउँमा अधिकांशले गोरू पाल्न छोडिसकेका छन्”, बोहराले भन्नुभयो, “अहिले खेती गर्न प्रविधिको प्रयोग बढ्दै गएकाले हामीले पनि हाते ट्याक्टरको प्रयोग गर्न थालेका हौँ ।” 

अपिहिमाल–२ का डब्बलसिंह कार्कीले गाउँमा थोरै परिवारले मात्रै अहिले गोरू पाल्ने गरेका सुनाउनुभयो । “पाँच–छ वर्ष अघिसम्म गाउँका हरेक घरमा एक हलगोरू हुन्थ्यो । अहिले गाउँमा एकाधबाहेक गोरू नै छैनन्”, उहाँले भन्नुभयो, “दुई–तीन परिवारको खेतमा एउटै व्यक्तिको गोरू प्रयोग हुने गरेको छ । अधिकांशले हाते ट्याक्टर प्रयोग गर्छन् ।”

किसान वसन्तसिंह लोथ्यालले शिक्षा तथा रोजगारीको खोजीमा युवाले गाउँ छोड्दै जाँदा गाउँमा गोरूको विकल्पमा ट्याक्टरको प्रयोग बढ्न थालेको बताउनुभयो । “काम गर्ने युवा गाउँमा नभएपछि गोरू पाल्ने चलन पनि हराउँदै गएको छ । गोरू चराउने, घाँसपानी गर्ने कोही नभएपछि विस्तारै गाउँलेले गोरू पाल्न छोडेका हुन्”, उहाँले भन्नुभयो ।