काठमाडौँ, कात्तिक २१ गते । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आगामी मंसिर ११ गतेदेखि आफ्ना सेयरधनीका लागि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ६२ दशमलव ५६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको छ । कम्पनीले ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अङ्कित मूल्यका ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद सेयरधनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ६ दशमलव २५६ कित्ता अनुपातमा आवेदन दिन पाउनेछन् ।

अहिले कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड ९५ लाख ३६ हजार १०० रुपैयाँ रहेको छ । हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८२ रुपैयाँ पुग्नेछ । हकप्रद सेयर प्रयोजनका लागि कम्पनीले कात्तिक २७ गते बुक क्लोज गर्दैछ । यसका आधारमा कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । उक्त हकप्रद सेयर खरिदका लागि आगामी पुस १ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।