तनहुँ, कात्तिक २० गते । यहाँको आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी मन्दिर परिसरमा पार्क निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको रु बीस लाख आर्थिक सहयोगमा पर्यटन प्रवर्द्धनार्थ आकर्षक पार्क निर्माण गरिएको हो । उक्त मन्दिर समुन्द्री सतहदेखि दुई हजार एक सय ३४ मिटर उचाइमा छ । गण्डकी प्रदेश सरकारले दुई आर्थिक वर्षमा रु दश/दश लाख बजेट विनियोजन गरेको थियो । ढुङ्गा बिच्छ्याएर पार्क आकर्षक बनाइएको सो वडाका वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो । पार्कमा नेपालको ठूलो झन्डासमेत राखिएको छ ।
छिम्केश्वरी मन्दिर भएको स्थानबाट अपी, सैपाल, धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमाललगायत मनोरम दृश्यहरु अवलोकन गर्न सकिन्छ । मन्दिर जीर्ण बन्दै गएपछि केही समय अघि मात्र प्यागोडाशैलीमा पुनः निर्माण गरिएको थियो ।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि लाब्दीसम्म १८ किमी यात्रापछि उक्त मन्दिर पुग्न सकिन्छ । धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेकाले पर्यटन प्रवर्द्धन गर्न मन्दिर पुननिर्माण गरी संरक्षण गरिएको आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले मन्दिर पुनःनिर्माणमा रु ४५ लाख बजेट विनियोजन गरेको थियो ।
उक्त मन्दिरको छाना, मुकुट, नागोल, झलर र गजुरमा गरी कूल चार सय २५ किलोग्राम पित्तल प्रयोग गरिएको गाउँपालिकाका इन्जिनियर पङ्कज मगरले जानकारी दिनुभयो ।