तस्वीरमा डोम समुदायबाट बाँसका सामान निर्माण गरिंदै
धनुषा, कात्तिक १९ गते ।
मधेसी दलितमा सबैभन्दा पिछडिएकामध्ये पर्छन् डोम समुदाय । गरिबी र विपन्नताका कारण ज्याला मजदुरी गरेर जीविको चलाउने यस समुदायका विपन्न परिवारका लागि सधैँ आम्दानीको अवसर जुट्दैन । प्रायः हातमुख जोर्नकै समस्या भोग्न बाध्य हुन्छन् । हुन त पछिल्लो समय विश्वव्यापीकरणको प्रभाव, खुला समाज र काम गर्नेहरूका लागि अवसरका ढोकासमेत खुल्दै गएका छन्, त्यसबाट यस समुदायका व्यक्ति पनि प्रभावित छन् नै तर त्यो अवसर सबैसम्म पुग्न सकेको छैन ।

क्षीरेश्वरनाथ नगरपालिका–६ सखुवाबजार नयाँटोलका झल्कु मल्लिक भन्नुहुन्छ,“समय बदलियो, हाम्रा मौलिक कामको मूल्य छैन । गर्नेले त अरु काम गरिरहेकै छन् तर अधिकांशले हातमुख जोर्ने समस्याबाटै गज्रिनु परिरहेको छ ।”

उहाँ चाडपर्बका बेला भने आफूहरूको सीपले महत्व पाउने गरेको सुनाउनुहुन्छ । छठ पर्व नजिकिँदै जाँदा बाँस र बेतका चोयाबाट डालो, नाङ्लो र टपरी बनाउन डोम समुदायलाई अचेल भ्याइ नभ्याइ रहेको मल्लिकको भनाइ छ । “सधैँ के खाने, के लाउने भन्ने चिन्ता हुन्छ तर चाडबाड, त्यसमा पनि छठ हाम्रा लागि खुसी बोकेर आउँछ । चुल्हो बल्छ, बालबालिकाका सामान्य आवश्यकता पूरा गरिदिँदा मुहारमा हाँसो आउँछ, हाम्रो मनमा उल्लास”, उहाँले हँसिलो मुद्रामा भन्नुभयो ।

दीपावलीलगत्तै सुरु हुने छठ पर्वलाई लक्षित गरी धनुषाका डोम समुदाय बाँसजन्य पूजाका सामग्री बनाउन व्यस्त हुन्छन् । यसबेला पुर्खौली पेसाले काम पाउँछ, सामानले बजार । अनि खुसीको त के कुरा !
तराईवासी हिन्दू धर्मावलम्बीहरूको महान् पर्व छठ नजिकिँदै जाँदा धनुषा, महोत्तरीका डोम समुदाय बाँस र बेतका चोयाबाट भाँडाकुँडा बनाउन व्यस्त छन् । यतिबेला उनीहरूले यही सामग्री बेचेर राम्रो आम्दानी गरिरहेका छन्। धुनषा, महोत्तरीमा करिब पन्ध्र लाख जनसङ्ख्या रहेकामा तीमध्ये करिब ७५ प्रतिशतले छठ पर्व मनाउने गरेकाले डोम समुदायले प्रत्येक छठमा बाँस र बेतका भाँडाकुँडा बेचेर राम्रो आम्दानी गर्ने जानकारहरू बताउँछन् ।

छठ मनाउने प्रत्येक परिवारले बाँस र बेतका नयाँ भाँडाकुँडाले पर्व मनाउनुपर्ने भएकाले आफूहरूले छठ पर्वका बेला यस्ता भाँडाकुँडा बनाएर राम्रो आम्दानी गर्ने गरेको जनकपुरधाम उपमहानगरपालिका—१ स्थित धर्मवान टोलका श्याम मल्लिक डोमले सुनाउनुभयो ।

सोही टोलकी रीता मल्लिकले गाँस, बास र कपासकै जोरजाममा अल्झिनुपर्ने बाध्यताका बीच आउँने छठ पर्वले कात्तिक महिनाभर दुःख बिर्सेर मीठोमसिनो खाने र राम्रो लगाउने अवसरसमेत ल्याउने गरेको बताउनुभयो । “अरु बेला त फेरि उही समस्या हुन्छ तर एकाध महिना भए पनि कामका लागि भौतारिनुपर्दैन । काम भएपछि दाम र माम त हुने नै भयो”, उहाँले खुसी हुँदै भन्नुभयो ।

महोत्तरीको औरही नगरपालिका–१ का ईन्दल मल्लिक डोमले कात्तिक लाग्नेबित्तिक्कै घरका बच्चादेखि बुढापाकासम्मले काम पाउने गरेको र बिहानदेखि बेलुकासम्म व्यस्त हुने गरेको सुनाउनुभयो । त्यही बेचेर राम्रो आम्दानी हुने भएकाले आफूहरू निकै खुसी भएको उहाँको भनाइ छ ।

छठ पर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतबाटै बनाइएका डालो, नाङ्लो र टालु टपरीमा अर्घ दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच÷सात वटा बाँसका भाँडाकुँडा किन्नुपर्छ । महोत्तरीको भङ्गहा नगरपालिकाका सुखारी डोम घरका बालकदेखि बुढापाकाले डालो, नाङ्लो बेचेर प्रतिव्यक्ति रु १० देखि २० हजार र प्रत्येक परिवारले सरदर रु दुई लाखसम्म आम्दानी गर्ने गरेको बताउनुहुन्छ ।
मिथिला नगरपालिका–७ का ५५ वर्षीय राजबिर डोमले चाडपर्व आफूहरूका लागि पीर बिसाउने अवसरसमेत भएको बताउनुभयो । सोही ठाउँकी ६० वर्षीया रुमीनी डोमिनले गाउँ, सहरमा हुने भोजभतेरम ाबचेखुचेको ल्याएर सपरिवार खाने गरेका डोम समुदायका विपन्न नागरिकले छठमा आफैँ मीठामसिनो परिकार पकाएर खाने गरेको सुनाउनुभयो ।

छठपर्वको आगमनसँगै डोमका घरआँगनमा पनि छठमाता र सूर्यदेवको प्रत्यक्ष उपस्थिति रहने गरेको अनुभूति हुने स्थानीय ६० वर्षीय बुधवा डोमको भनाइ छ । मिठोमसिनो खाने मात्रै होइन महोत्तरीको जलेश्वर नगरपालिकाका रामजी डोमले डालो, नाङ्लो र टालु टपरी बेचेर कात्तिकभरिमा वर्षभरि कै सबै कर्जा चुक्ता गर्ने र केही महिनासम्मको खर्च जोहो योजना रहेको सुनाउनुभयो ।

हरेक वर्ष छठपर्व मनाउने वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुँडा पु¥याउन डोम समुदायका व्यक्ति निकै व्यस्त देखिन्छन् । पछिल्लो समय तराईमा मात्रै नभइ देशको राजधानी काठमाडौँसहित पोखरा, हेटौँडालगायत पहाडी क्षेत्रमा पनि छठपर्व मनाउन थालिएकाले तराईबाट बाँस र बेतबाट तयार भएका भाँडाकुँडा निर्यात हुने अवस्था पनि सिर्जना भएको छ । यसलाई व्यवस्थित गर्न स्थानीय सरकारले आश्यक सहयोग गर्नुपर्ने यसमा सङ्लग्न डोम समुदायका अगुवाहरूको भनाइ छ ।