फाइल तस्वीर
पर्सा, कात्तिक १३ गते ।
वीरगञ्ज महानगरपालिकाले सार्वजनिक निजी साझेदारीअन्तर्गत ३२ वटै वडाको सरसफाईको काम निजी क्षेत्रबाट गराउने सम्झौता कार्यान्वयनको बाटो खुलेको छ । महानगर र एनके इन्टरनेशनल कन्स्ट्रक्सन प्रालीबीच भएको सम्झौता कार्यान्वयन नगर्न/नगराउन भन्दै उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा गत असोज १५ गते परेको रिट माथि सुनुवाई गर्दै अस्थायी इजलासका न्यायाधीसद्वय निर्मला शाक्य र भरत लम्सालको संयुक्त इजलासले सोमबार अन्तरिम आदेश जारी नहुने निर्णय गरेसँगै सरसफाईको सम्झौता अघि बढाउने बाटो खुलेको हो ।

सम्झौता कार्यान्वयन नगर्न माग गर्दै रामचन्द्रप्रसाद कानुसहितले गत असोज १५ गते उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा रिट दायर गरेका थिए । अदालतले गत असोज १६ गते सम्झौता अहिले कार्यान्वयन नगर्नु भन्दै अदालतका न्यायाधीशको एकल इजलासबाट अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो ।

वीरगञ्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै न्यायाधीसद्वय शाक्य र लम्सालको संयुक्त इजलाशबाट अन्तरिम आदेश जारी भएसँगै महानगरलाई सरसफाई व्यवस्थापनका लागि गरिएको सम्झौता कार्यान्वयनमा सहज वातावरण बनेको प्रतिक्रिया दिनुभयो । 

सोमबार भएको बहसमा महानगरका तर्फबाट अधिवक्ता वीरेन्द्रप्रसाद यादव, प्रमोदप्रसाद साह, कमलमोहन पोखरेल र ईश्वर बराल तथा एनके इन्टरनेशनलका तर्पmबाट वरिष्ठ अधिवक्ता रामेश्वर सेढाईंले बहस गर्नुभएको थियो । 

निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता दिपकराज भण्डारी, नेपाल बार एशोसिएसनका उपाध्यक्ष सुधीर कर्ण र अधिवक्ता नेजामुद्दिन राउत गद्दीले बहस गर्नुभएको थियो । महानगरले एनके इन्टरनेशनल कन्स्ट्रक्सन प्रालीसँग सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत वीरगञ्जका ३२ वटै वडा सरसफाईका लागि सम्झौता गरेको थियो । रासस