तस्वीरमा व्यवसायिक रुपमा मौरीपालक किसान मोहराज उपाध्याय ।
बागलुङ, कात्तिक १३ गते ।
जैमिनी नगरपालिका–७ जैदी धुल्लुका ७४ वर्षीय मोहराज उपाध्यायले वार्षिक १२ लाखदेखि १५ लाख रुपैयाँसम्म आम्दनी गरिरहनुभएको छ । विगत तीन दशकभन्दा अघिदेखि निरन्तर मौरीपालन व्यवसाय गर्दै आउनुभएका उपाध्यायले मह बेचेर वार्षिक रुपमा १५ लाख रुपैयाँसम्म आम्दान गर्न सफल हुनुभएको हो ।


घर्कंदो उमेरमा पनि ७४ वर्षीय उपाध्यायमा काम गर्ने जोस जाँगर पनि युवा उमेरको जत्तिकै छ । विसं २०५० देखि व्यावसायिक रुपमा मौरीपालन गर्न थाल्नुभएका उपाध्यायको घरका बार्दली र बारीका छेउ मौरीका घारैघारले भरिएका छन् । मौरीको घुनुघुनु आवाजसँगै सुरु हुने उपाध्यायको दैनिकी बारीमा काम गरेर बित्ने गरेको छ ।

उपाध्यायका अनुसार बार्दली र बारीमा गरी हाल दुई सय बढी घरमा मौरी छन् । वैदेशिक रोजगारीमा जान असफल भएपछि आफुले मौरीपालन गर्न सुरुगरेको बताउनुहुन्छ । 

तीन दशक मौरीपालन गर्नुभएका उपाध्यायले हाल सुन्तला, ड्रागन र कागतीखेती समेत गर्न थालेको बताउनुभयो । उहाँको बारीमा पुग्दा फलफूलसँगै अदुवा, लटरम्म फलेका गोलभेँडा र तरकारी फलेका देख्न सकिन्छ । उहाँले सुन्तलका तीन सय र कागतीका एक सय ५० बोट लगाउनुभएको छ । ती बिरुवाले विस्तारै फल दिन थालेको उहाँले बताउनुभयो । 

जैमिनी क्षेत्रमा अगुवा मौरीपालक कृषकका रुपमा परिचित उपाध्यायले फलफूल र तरकारी बिक्री गरी लाखौँ आम्दानी गर्दै आउनुभएको छ । उहाँ अगुवा कृषकमात्र नभई कृषकका प्रशिक्षक पनि हुनुहुन्छ । आफूले जानेको ज्ञान सीपलाई किसानमाझ पु¥याउँदा उनीहरुलाई सहयोग पुग्ने उपाध्यायले विश्वास व्यक्त गर्नुभयो । वर्षमा १२ क्विन्टल मह बिक्री गर्ने बताउँदै उहाँले सबै खर्च कटाएर रु १२ देखि रु १५ लाखसम्म आम्दानी हुँदै आएको जानकारी दिनुभयो ।

“विदेश जानका लागि धेरै प्रयास गरेँ, सफल हुन सकेन, त्यसपछि मौरीपालनतर्फ लागेँ”, उपाध्यायले भन्नुभयो, “मैले मौरी पाल्नका लागि तालिम पनि लिएको छु, धेरै ज्ञान बटुलेको छु, २७ वटा समूहलाई तालिम पनि दिइसकेको छु । कैयौँ किसानले फोनबाट पनि सोधपुछ गर्नुहुन्छ ।” मह प्रतिकेजी रु एक हजार तीन सयमा बिक्री हुने भन्दै घरबाटै बिक्री हुने भएकाले बजारीकरणको समस्या नभएको उहाँले बताउनुभयो । 

महको माग निकै बढेको हुँदा पु¥याउन नसकेको उपाध्यायको भनाइ छ । कहिलेकाहीँ रोग लाग्ने, आहारको कमी हुनेलगायत समस्या हुने उहाँको भोगाइ छ । मौरीपालनका लागि धेरै शारीरिक श्रम नचाहिने भएकाले सजिलो पेसा मन्ने उहाँले पहाडी क्षेत्र मौरीपालनका उपयुक्त हुने धारणा राख्नुभयो । 

उपाध्यायले भन्नुभयो, “विसं २०४८ तिर मौरीपालनसम्बन्धी तालिम लिएँ, त्यसपछि व्यावसायिक रुपमा पाल्न थालेको हुँ अहिलेसम्म पाल्दै आएको छु । महको माग बढी भएकाले पु¥याउन सकिरहेका छैनौँ ।” युवा विदेश जानुभन्दा स्थानीय सरकारको सहयोगमा स्वरोजगारमूलक काममा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले गाउँमा बसेर व्यावसायिक कृषि गर्ने किसानलाई नगरपालिकाले प्रोहोत्सान गर्ने कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । किसानलाई आवश्यक अनुदान, मल, बीउ, तालिम र प्राविधिक सहयोग गर्दै आएको उहाँले उल्लेख गर्नुभयो । 

पछिल्लो समय गाउँमै व्यवसाय गर्नतर्फ धेरैले चासो देखाएको भन्दै नगरपालिकाले कृषकमुखी कार्यक्रम ल्याउने योजना बनाइरहेको उपप्रमुख शर्माले बताउनुभयो ।