काठमाडौँ, कात्तिक ११ गत । काठमाडौँमा जारी सातौँ संस्करण साफ महिला च्याम्पियनसिपको फाइनलमा साविक विजेत बङ्गलादेश पुगेको छ । त्रिपुरेश्वस्थित दशरथ रङ्गशालामा आज आइतबार दिउँसो सम्पन्न पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले भुटानमाथि ७–१ गोलको फराकिलो जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो ।

उत्कृष्ट लयमा रहेको साविक विजेता बङ्गलादेशले खेलको सुरुदेखि नै भुटानमाथि दबाबमा सिर्जना गरेको थियो । खेलको पूर्वाधमा बङ्गलादेशले दुई गोलको अग्रता लिएको थियो । बङ्गाली टोलीको स्टार खेलाडी तोहुरा खातुनले खेल सुरुभएको १५ औँ मिनेटमा पहिलो गोल गर्दै विपक्षी भुटानी टिमको जाली चुमाएकी थिइन् । उनै खातुनले पुनः ३५औँ मिनेटमा अर्को गोल गर्दै अग्रतालाई दोब्बर बनाउन सफल भइन भने सविना खातुनले आफ्नो टिमका लागि पहिलो हाफको २६ औँ र ३७ औँ मिनेटमा दुई गोल गर्दै ५–० गोलको फराकिलो अन्तर बनाउँदै उपाधि रक्षा गर्न फाइन पुग्ने बाटो बलियो बनाइन् ।

यसैगरी उत्तरार्ध पछिको खेलमा तोहुरा खातुनले टिमको लागि ५८ औं मिनेटमा आफ्नो लागि तेस्रो गोल व्यक्तिगत गोल र टिमको लागि पाँचौ गोल गर्न सफल भइन ।

तुलनात्मक रुपमा कमजोर मानिएको भुटानमाथि एक पक्षीय खेल खेलेको बङ्गलादेशकी खेलाडी रितु चकमा र मासुरा प्रविनले पनि एक–एक गोल गरेका थिए ।

भुटानका लागि भने एकमात्र सान्त्वना गोल डेकी लहजुमले गरेकी हुन् । ७–१ गोलले पछि परेको भुटानको फाइनल पुग्ने सपनामा बङ्गाली टिमले पूर्णबिराम लगाइ दियो ।

समूह ‘ए’ को विजेता बङ्गलादेश र समूह ‘बी’ को उपविजेता भुटान सेमिफाइनलमा भिडेका हुन् भने आजै साँझ साढे ५ बजे हुने दोस्रो सेमिफाइनल खेल नेपाल र भारतबिच फाइनलका लागि प्रतिस्पर्धा हुँदैछ । नेपाल समूह ‘बी’ को विजेता र भारत समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।

नेपालले नै आयोजना गरेको अघिल्लो संस्करणको साफ महिला च्याम्पियनसिपमा नेपाल र बङ्गलादेशबीच फाइनलमा प्रतिस्पर्धा भएको थियो । उक्त संस्करणमा बङ्गलादेशले नेपाललाई ३–१ गोलले पछिपार्दै उपाधि चुमेको थियो । जारी संस्करणमा आज नेपालले भारतलाई पाखा लगाउँदै फाइनलमा बङ्गलादेशसँग बदला लिन चाहन्छ ।