जनकपुर, कात्तिक ११ गते। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान मधेस प्रदेश सरकारको मधेस–प्रदेश भवनले परिचित जनकपुर चुरोट कारखाना निजीकरणगर्ने षड्यन्त्र भइरहेको आरोप लगाउनुभएको छ ।

आज बिहान जनकपुरधाम विमानस्थलमा रासस कर्मीसँग कुरागर्दै उहाँले सो आरोप लगाउनुभएको हो । उहाँले भन्नुभयो, “म गृहमन्त्री हुँदा सरकारसँग निर्णय गराएर प्रदेश मातहत ल्याउनुपर्नेगरी प्रक्रिया अगाडि बढाएको थिएँ र सो क्रममा जिल्ला प्रशासन कार्यालय धनुषाको मातहत चुरोट कारखानालाई ल्याइएको छ ।”

सरकारले पुनःजनकपुर चुरोट कारखानालाई निजीकरण गरिरहेको कुरा आफूले दुई तीन दिनदेखि सुन्दै आएको जानकारीदिँदै उहाँले भन्नुभयो, “यो आपत्तिजनक कार्य मात्र होइन यो सङ्घीय विरोधी कदम पनि हो ।”

सङ्घीय उद्योगमन्त्रीसँग आफूले यसबारे छलफल गरेको चर्चागर्दै नेता निधिले भन्नुभयो, “उद्योगमन्त्रीले आफूलाई कारखाना निजीकरण होइन लाइसेन्स नवीकरण गर्नमात्र लागिएको बताउनुभएको छ ।”

जनकपुर चुरोट कारखानालाई आफू गृहमन्त्री भएकैबेला निर्णय गराएर मधेस प्रदेशको मातहत ल्याइसकेको बताउँदै नेता निधिले यदि सरकारले यस्तो निर्णय गरेमा विरोधगर्ने चेतावनी दिनुभयो । उहाँले मधेस प्रदेश भवन नै नरहने गरी षड्यन्त्रको गन्ध आफूले पाएकाले यसकालागि सबै सतर्क रहन आग्रहसमेत गर्नुभयो ।

“जनकपुर चुरोट कारखानाको जति पनि सम्पत्ति छ त्यो मधेस प्रदेश सरकारको हो यसमा कुनै दुई मत नरहेकाले निजीकरण अथवा कुनै प्रकारको षडयन्त्रभए यसलाई सङ्घीयता विरोधी कदम भन्दै हामी आन्दोलनमा उत्रिनेछौँ”, उहाँले प्रष्ट पार्नुभयो ।