खाँदबारी, कात्तिक ११ गते। सङ्खुवासभाको खाँदबारीमा जारी नौ अरुण भ्याली फुटबल प्रतियोगितामा चुलाचुली क्लब धनकुटा र पञ्चकन्या क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शनिबार भएको पहिलो खेलमा चुलाचुली क्लब धनकुटाले लोहोरुङ क्लबलाई ट्राइब्रेकरमा ३–१ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा खेल बराबरीमा रोकिएपछि नतिजा पेनाल्टी सुटआउटबाट आएको थियो । दोस्रो खेल पञ्चकन्या क्लबले बेलबारी क्लब मोरङलाई १–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । 

यसअघि क्वाटरफाइनलमा विजयीहुँदै सेकाहा क्लब र सभापोखरी क्लब अन्तिम चारमा प्रवेश गरिसकेका छन् । आज हुने सेमिफाइनलमा सेकाहा र चुलाचुली तथा सभापोखरी र पञ्चकन्या क्लबबीच प्रतिस्पर्धा हुनेछ।