काठमाडौँ, कात्तिक ११ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई सहज र सरल बनाउने काम गराउन सरकार लागिपर्ने बताउनुभएको छ ।

  युवासङ्घ नेपालले आज आयोजना गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स् (एआइ) सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ मा विज्ञसँगको संवादमा सहजकर्ताका रुपमा भूमिका निर्वाहगर्दै प्रधानमन्त्री ओलीले विकास, प्रगति र सहज जीवनका लागि यसको उपयोग गर्नुपर्नेमा जोड दिनुभएको हो ।

  “विकासको तिर्खाबाट हामी ग्रस्त छौँ । त्यसका लागि डिजिटल नेपालको अवधारणा ल्याऔँ । हामीले आर्टिफिसियल इन्टेलिजेन्स्को सकारात्मक उपयोग गर्नुपर्छ । यसको दुरुपयोगबाट हुनसक्ने दुष्प्रभाव रोक्न सचेतना र कानुनी प्रबन्धमा पनि जानुपर्छ ।” प्रधानमन्त्री ओलीले भन्नुभयो, “एसईईमा धेरै विद्यार्थी अनुत्तीर्णहुने क्रमबाट सुधार ल्याउनुछ । यस्ता क्षेत्रमा एआईको उपयोग कसरी गर्न सकिन्छ र नेपाललाई एआई एजुकेसनको केन्द्र कसरी बनाउने भन्नेमा हाम्रो ध्यान रहेको छ ।” उहाँले आटिर्फिसियल इन्टेलिजेन्स सम्बन्धी नीति र योजना ल्याउने जानकारी पनि दिनुभयो ।