विराटनगर, कात्तिक ९ गते । विराटनगर महानगरपालिकाले अटिज्म भएका बालबालिकाहरूको निःशुल्क उपचारका लागि ‘महानगर अटिज्म सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ । सो केन्द्र विराटनगर–४ दूधफारम दक्षिणमा अवस्थित छ ।

करुणा फाउण्डेशनको प्राविधिक सहयोगमा सञ्चालनमा ल्याइएको ‘महानगर अटिजम सेवा केन्द्र’ का लागि छिट्टै नै भवन निर्माण गर्ने योजना रहेको विराटनगर महानगरपालिकाले जनाएको छ ।

अटिज्म सेवा केन्द्र सञ्चालनका लागि महानगरले चालु आर्थिक वर्षको बजेटमा रु एक करोड विनियोजन गरेको थियो । विनियोजित रकममध्येबाटै रु ३० लाख लागतमा महानगर अटिज्म सेवा केन्द्र सञ्चालनमा ल्याइएको स्वास्थ्य महाशाखा प्रमुख डा दिलीप यादवले जानकारी दिनुभयो ।

यादवका अनुसार केन्द्र बिहान ९ देखि ३ बजेसम्म सञ्चालन हुनेछ । हाल केन्द्रमा पाँच बालिकासहित २५ जनाले सेवा लिइरहेका छन् । महानगरको तथ्याङ्कअनुसार विराटनगर क्षेत्रभित्र ५१ जना अटिज्म भएका बालबालिका छन् ।

महानगरले सञ्चालनमा ल्याएको केन्द्रमा फिजियोथेरापी, स्पीज थेरापी ९बोल्न सिकाउने०, बालबालिका र अभिभावकलाई मनोचिकित्सक सेवा प्रदान गरिनेछ ।

केन्द्रभित्र ट्रेम्पोलिन, चिप्लेटी, चाकाचुली, पुल बल, रकिङ हर्स, घुम्ने पिङ, टेबल टेनिससहित आवश्यकताअनुसारका विभित्र खेलौनाको व्यवस्था गरिएको छ । केन्द्रमा भर्ना भएका बालबालिकाको उपचारसहित अध्ययनसमेत गराइने महानगरले जनाएको छ ।

महानगर प्रमुख नागेश कोइरालाले साना बालबालिकामा देखिने यस किसिमको गम्भीर रोगलाई उपचारमा सहयोग पुग्ने उद्देश्यले केन्द्र स्थापना गरिएको जानकारी दिनुभयो । केन्द्रलाई अझ व्यवस्थित एवं भव्य बनाउन जग्गाको खोजी भइरहेको र जग्गा प्राप्त हुनासाथ नयाँ भवन बनाइ बिरामीलाई उपचार गर्ने व्यवस्था मिलाइने उहाँको भनाइ छ ।

अटिज्म केन्द्रकी संयोजक रश्मी निरौलाले नगर क्षेत्रभित्रका बिरामीलाई सेवा प्रदान गरेर विराटनगर महानगरपालिकाले ठूलो काम गरेको प्रतिक्रिया दिनुभयो ।