फाइल तस्वीर
वीरगञ्ज, कात्तिक ९ गते । प्रहरीले बिलबिजकभन्दा बढीको खुद्रा तथा औषधि बोकेका दुई ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–८ घण्टाघरबाट एक करोड ८६ लाख रुपैयाँ मूल्य पर्ने खुद्रा तथा औषधि बोकेका ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार सुदूरपश्चिम प्रदेश ०१–००१ ख २६९९ तथा सुदूरपश्चिम ०१–००१ ख २६६१ नम्बरको मालबाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो । बिजबिजकभन्दा बढीका सामान बोकेको आशङ्कमा ट्रक नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । दुवै ट्रक आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बाराको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिनुभयो । 

यसअघि पर्सा प्रहरीले यही कात्तिक ७ गते पनि बिलबिजक नभएको एक करोड १४ लाख रुपैयाँ मूल्य पर्ने लत्ताकपडा तथा औषधि बोकेको ट्रक नियन्त्रणमा लिएको थियो । प्रहरीले वीरगञ्ज महानगरपालिका–८ घण्टाघरचोकबाट ना ३ ख ५१८७ नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो ।