फाइल तस्वीरः खाद्य व्यवस्था तथा व्यापार कम्पनी ।
कास्की, कात्तिक ९ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कास्कीस्थित पोखराको परिचय बने ‘जेठोबुढो’ नामक धान खरिद गरी बजारीकरण गर्ने भएको छ । पोखरा महानगरपालिका क्षेत्रमा फल्ने लोकपृय ‘जेठोबुढो’ धान उत्पादन र बजारीकरण गर्न पोखरा महानगरपालिकाले व्यापार कम्पनीसँग व्यवस्था मिलाएको हो ।

पोखराको विशेष पहिचान बनाएको लोपोन्मुख ‘जेठोबुढो’ धान संरक्षण तथा प्रवद्र्धन गर्न त्यसको उत्पादन र बजारीकरण गर्न पोखरा महानगरपालिका लागिपरेको छ । किसानसँगै कृषिसम्बन्धी निकाय पनि यस कार्यमा जुटेका छन् । खानमा स्वादिलो, नरम र बास्नादार हुनुको साथै यो धान अन्य धानको तुलनामा केही महङ्गो छ । जेठोबुढो रोप्ने किसानलाई बिउ अनुदान तथा प्रोत्साहनका अन्य कार्यक्रम सञ्चालन गर्दै आएको महानगरले बजारीकरणका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग सहजीकरण गरेपछि जेठोबुढो धान र चामल बिक्री गर्ने बाटो खुलेको छ ।

सम्झौताअनुसार महानगर क्षेत्रका किसानले उत्पादन गरेको धान खाद्य कम्पनीले खरिद गर्नेछ । जेठोबुढो न्यूनतम समर्थत मूल्य प्रतिक्विन्टल नौ हजार पाँच सय रुपैयाँ तोकिएको महानगरको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताउनुभयो । आगामी असार मसान्तसम्म उक्त कम्पनीले जेठोबुढोसँगै अन्य स्थानीय उपज पनि खरिद गर्नेछ । किसानले आफूले चोहेको समय र तोकिएको मूल्यमा कम्पनीलाई जेठोबुढो बेच्न सक्नेछन् ।

यसअघि पनि महानगरले जेठोबुढोको ‘प्याकेजिङ, ब्राण्डिङ’का साथ बजारीकरण गरेको थियो । महानगरले जेठोबुढोसहित अन्य ३५ प्रकारका कृषि उपजहरुको समर्थन मूल्य तोकेर महानगरभित्रका किसानलाई न्यूनतम मुनाफासमेत मूल्य सुनिश्चित गरेको छ । महानगरले २०७६ सालदेखि पाँच रोपनीभन्दा बढी क्षेत्रफलमा जेठोबुढो धान खेती गर्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको छ ।

वार्षिक दस टनसम्म उत्पादन गर्ने किसानलाई ५० प्रतिशत अनुदानमा जेठोबुढोको उन्नत बिउ प्रदान गर्दै आएको छ । कृषि महाशाखाका अनुसार पोखरामा ११ हजार दुई सय हेक्टरमा धान बाली लगाउने गरिएकामा ४० प्रतिशत हिस्सा जेठोबुढोले ओगटेको छ । “उब्जनीका हिसाबले अरु वर्णशङ्कर जातभन्दा जेठोबुढो कम फल्छ तर यसको मूल्य धेरै पर्छ, बजारीकरणको सुनिश्चितता भइसकेको अवस्थामा किसानले जेठोबुढाको खेती गर्दा बढी फाइदा छ”, महाशाखा प्रमुख कडरियाले भन्नुभयो ।